Sunday, April 19सत्यम खबर
Shadow

विश्व शान्तिका लागि प्रधानमन्त्रीको आह्वान, भन्छन्- द्वन्द्वरत पक्षहरूबीच संवाद हुनुपर्छ

काठमाण्डौ, १२ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवाद हुनुपर्ने बताएका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।

निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिए।

‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरूका लागि उदाहरण बनेको छ,’ उनले भने, ‘अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए।

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अतिकम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए। ‘विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ,’ उनले भने, ‘हामी संयुक्त राष्ट्र संघका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको जनाए। ‘परमाणु हतियारले सुसज्जित छिमेकीहरुको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,’ उनले भने, ‘नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।’ नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *