
काठमाण्डौ, ६ माघ – पाकिस्तानको खैबरपख्तुख्वामा पछिल्लो समय आतंकवादी आक्रमणका घटनाहरु बढ्दै गएका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा सोमबार प्रहरी भ्यान नजिकै भएको विस्फोटमा कम्तीमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ।
विस्फोटमा २७ जना घाइते भएको बताइएको छ। जिल्ला प्रहरी अधिकृत (डीपीओ) कासिफ जुल्फिकारले ५ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

बाजौर प्रहरी प्रवक्ता इसरार अहमदका अनुसार अधिकारीहरू पोलियो टोलीहरूलाई सुरक्षा प्रदान गर्न जाँदै थिए किनभने यस क्षेत्रमा खोप अभियान चलिरहेको पाकिस्तानी पत्रिका डनले रिपोर्ट गरेको छ।
खार जिल्ला मुख्यालय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वजिर खान साफीले घाइते मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य १० जना गम्भीर घाइतेलाई पेशावरको मेडिकल सुविधामा पठाइएको जानकारी दिएका छन्।
मलाकन्द डिभिजनका कमिश्नर साकिब रजाले विस्फोटपछि उक्त क्षेत्रमा पोलियो अभियान स्थगित गरेको छ। प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले घटनाको जिम्मेवारी लिएको छ। नेपालपाना
