
नेपालगन्ज, १६ पौष – नेपालगन्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४६३ नं को कारले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोल पम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगन्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।

अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुवै जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगन्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
