
नेपालगन्ज, २४ असोज – बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको छ ।
निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनु पर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचार कै क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार कै क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले शुक्रबार राति करिब १० बजे भेरी अस्पतालमा रिफर गरी पठाएको थियो ।
अस्पताल पुगेको एक घण्टा मै उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

