
नेपालगन्ज, १७ कार्तिक – संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ। नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले आममाफी दिएको थियो।
रिगलको आममाफी विरूद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। हिजोमात्रै सर्वोच्चको पूर्ण इजलासले ढकालको आममाफी बदर गरिदिएको हो। साथै, ढकाल हिजो साँझ नै नेपालगञ्जबाट पक्राउ परिसकेका छन्। रिट निवेदक भारतीले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन्।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन्। फैसलापछि आफूले न्यायाधीशहरूप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायालयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धरधरी रोएको सुनाइन्।
सरकारका कुर्सीहरू बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताइन्।
‘फैसला सुन्दा अब न्यायाधीशहरू पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्योदेखि म गलत भएँ। त्यो फैसलापछि म यत्ति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धरधरी रोएँ। मैले अदालतको सिँढी ढोगेँ। सिंगो सरकार हत्याराको पछि लागेको थियो। फैसलापछि मलाई आँट र हिम्मत आयो। सरकारका कुर्सी बिकिसके पनि न्यायालय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ,’ उनले भनिन्। सेतोपाटी
