Wednesday, April 22सत्यम खबर
Shadow

चिनियाँका गोदाममा सिआइबीको छापा

काठमाण्डौ, ३१ श्रावण – प्रहरीले करिब सय केजी सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका थप गोदाम पत्ता लगाएर छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुकेधारा, चप्पल कारखाना, बाँसबारी, सामाखुसीलगायत स्थानमा चिनियाँले भाडामा लिएका घरमा छापा हानेको हो ।

ती गोदाममा पनि सुन लुकाउन प्रयोग भएका थप सामान भने बरामद भएका छन् । साथै चिनियाँलाई सहयोग गर्ने केही नेपालीलाई पनि नियन्त्रणमा लिएर सिआइबीले सोधपुछ गरिरहेको छ । केही दिनयता कम्तीमा थप पाँच गोदाममा छापा हानिएको, तर सुन भने बरामद हुन नसकेको सिआइबी स्रोत बताउँछ । तर, ती घर पनि तस्करीको सुन लुकाउन प्रयोग हुँदै आएको पुष्टि भएको छ । ती ठाउँबाट सुन लुकाउन प्रयोग भएका ब्रेकसुलगायत सामान बरामद भएको छ । साथै, चिनियाँका कम्तीमा चार नेपाली सहयोगी पक्राउ परेको स्रोत बताउँछ । ‘तर, तस्करीमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरूलाई म्याद थप गरेका छैनौँ,’ सिआइबीका एक अधिकारीले भने ।

राजस्व अनुसन्धान विभागले यसअघि गरेको अनुसन्धानमा काठमाडौंमा चिनियाँका आठ अखडा पत्ता लगाएको थियो । ठमेल, सोह्रखुट्टे, लाजिम्पाट, कपुरधारा, पानीपोखरी, टोखा र धुम्बाराहीमा चिनियाँले गोदाम तथा निवासका लागि भाडामा लिएका घरहरू पत्ता लागेको थियो । सिआइबीले उनीहरूको थप गोदाम फेला पारे पनि थप व्यक्तिलाई भने अझै पक्राउ गर्न सकेको छैन ।

सिआइबीले यो घटनाको अनुसन्धान थालेको एक साता भइसकेको छ । जसक्रममा तस्करीमा प्रत्यक्ष संलग्न देखिएका कोही पनि पक्राउ परेका छैनन् । तर, तस्करी समूहबारे थप महत्वपूर्ण सूचनाहरू भने संकलन भएको सिआइबीका अधिकारीको दाबी छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायत शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने, सोध्ने तथा छापा हान्ने काम अनुसन्धानको नियमित प्रक्रिया नै भएको बताउँछन् । ‘सिआइबीले अभियुक्तहरूको पुनः बयान लिने र शंकास्पदहरूमाथि सोधपुछ गरिरहेको छ,’ उनी भन्छन्, ‘राजस्व र हाम्रो अनुसन्धान शैली फरक हुने भएकाले कतिपय कागजपत्र मिलाउने काम पनि भइरहेको छ ।’ १८ जना पक्राउ परेकामा राजस्व अनुसन्धान विभागले उनीहरूको बयान लिइसकेको थियो । सिआइबीले फेरि उनीहरूको बयान लिएको थियो ।

गत २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय केजी सुन तस्करीमा संगठित र अन्तरदेशीय समूहको संलग्नता देखिएपछि सरकारले यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको हो । एक साताको अवधिमा उसले अनुसन्धानमा ठूलो प्रगति देखाएको छैन । अनुसन्धान सुरु बिन्दुबाटै गरिएको हुँदा परिणाम आउन समय लाग्ने नेपाल प्रहरीका प्रवक्ता कडायत बताउँछन् ।

उनले भने, ‘अनुसन्धान सुरु बिन्दुबाटै गरिएको छ । अहिले कागजात अध्ययनका काम भइरहेका छन् । घटनामा संलग्न अभियुक्तसँग घटनाको ‘नेक्सस’ पहिल्याउने काम हुँदै छ । केही अभियुक्तलाई विभागले पक्राउ गरेको छ । घटनासँग लिंक देखिएका उनीहरूसँग बयान लिने काम हुँदै छ । परिणाम देखिन केही समय लाग्नेछ ।’

विभाग र प्रहरीको अनुसन्धान प्रक्रिया नै फरक रहेको हुँदा घटनाको सुरुवाती बिन्दुबाटै अनुसन्धान प्रक्रिया थालिएको उनको भनाइ छ । कडायत भन्छन्, ‘विभाग र प्रहरीको अनुसन्धान शैली नै फरक छ । त्यसो हुँदा घटनाको अनुसन्धान सुरुवाती बिन्दुबाटै सुरु गरिएको हो । यद्यपि, उहाँहरूले हामीकहाँ बुझाएको कागजातबारे भने अध्ययन भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *