
काठमाण्डौ, २१ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपालमा मल कारखाना स्थापना गर्ने सहमति भएको छ ।
भारतीय दूतावासले विज्ञप्ति जारी गरेर दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको जानकारी दिएको छ ।
‘दुई देशका प्रधानमन्त्रीले सम्बन्धित निकायहरुलाई त्यस्तो उद्योग स्थापनाका लागि आवश्यक तयारी एवं अध्ययन गर्न निर्देशन पनि दिनुभयो’ विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।
यस्तै, नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिने निर्णय गरेको दूतावासले जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बुधबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् ।
