
नेपालगन्ज, ४ जेठ – नेपालगन्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो ।
सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिंदै सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीहरुको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आज विहिबार दुई वटा सहकारी संस्थाको अनुगमन गरेको छ ।
शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक नवराज उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित अनुगमन टोलीले नेपालगन्ज–१२ बेलासपुर स्थित पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था र नेपालगन्ज–१८ कारका“दोस्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आर्थिक मन्दीका बीच पनि कुशल व्यवस्थापनका साथ सहकारीहरु सञ्चालन भइरहेको पाइएको रानाले बताउनुभयो । ‘‘यो मन्दीमा पनि उच्च मनोबलका साथ सञ्चालन भइरहेको पायौं तर कतिपय विषयमा अद्यावधिक नभएको पनि पाएका छौं, ती विषयहरुलाई तत्काल सच्याएर अघि बढ्न पनि भनेका छौं,’’ रानाले भन्नुभयो–‘‘डकुमेन्टेसनलाई अद्यावधिक राख्न सुझाब दिएका छौं ।’’
ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनु पर्ने प्रक्रिया लगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले जानकारी दिनुभयो । अप्ठेरो परिस्थितिमा पनि सहकारीहरु राम्रोसंग सञ्चालन भइरहेको पाइएको बताउ“दै उहा“ले अनुगमनका क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सच्याउन सुझाब दिइएको उल्लेख गर्नुभयो ।
पूर्णिमाले स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आएको छ । शेयर सदस्य र विपन्न बर्गलाई लक्षित गरी आफ्नै प्रयोगशालासहित नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको उपाध्यक्ष लता शर्माले बताउनुभयो । प्रबन्धक बामदेव भट्टराईले आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्णिमामा ४२० शेयर सदस्य छन् ।
पौरखीले पनि विपन्नलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला लगायत वितरण गर्दै आएको छ । बेला बेलामा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताउनुभयो । पौखरीमा १३०० शेयर सदस्य रहेको कोषाध्यक्ष पूर्णदेव गिरीले जानकारी दिनुभयो । संस्थाका प्रबन्धक सञ्जयकुमार बर्माले अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
