
नेपालगन्ज, २५ चैत – नेपालगन्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शिविरको ब्यानर पढेर उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मेयर विष्टले निःशुल्क विशेषज्ञ आयुर्वेद शिविरलाई उपमहानगरको २३ वटै वडामा संचालन गरिने बताए । उनले भने, ‘नागरिकलाई स्वास्थ्य राख्न हाम्रो परम्परागत उपचार पद्धति आयुर्वेदको महत्वपुणर् भुमिका रहन्छ । यो कार्यक्रम निकै राम्रो छ । १० नम्बर वडाबाट यसको सुरुआत भएको छ । अब हामी सबै वडामा शिविरको आयोजना गर्नेछौं ।’
मेयर विष्टले नेपालगन्जमा अवैधानिक रुपमा आयुर्वेदको उपचार गर्ने भन्दैं भारतीय नक्कली डाक्टरले बिरामीलाई भ्रमित पार्ने काम गरेकोले त्यसलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले काम गर्ने बताए ।
संविधान सभा सदस्य एवम् नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले आम नागरिकमा आयुर्वेदको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न शिविरले महत्वपुणर् भुमिका खेलेको बताए । नेपालगन्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीको बारेमा सकारात्मक भावनाको विकास भएको भन्दैं भारतीय केहि नक्कली डाक्टरका कारण बिरामीको स्वास्थ्यमा गम्भिर समस्या देखिदै गएको बताए ।
उनले भने, ‘भारतीय सिमा क्षेत्रका झोले डाक्टरका कारण थुप्रै बिरामीमा क्यान्सर जस्तो खतरनाक रोग देखिएको छ । जसको उपचार हाम्रा नेपाली विज्ञ डाक्टरहरुले गर्नु भएको छ । यसरी बिरामीको स्वास्थ्यमा खेलबाड भैरहेको छ । यसलाई रोक्नु हामी सबैको दायित्व हो ।’
शनिबार भएको निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविरको उद्घाटन कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सा परिषदका रजिष्टार तथा पंचकर्म विज्ञ डा. निर्मल भुषाल, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सन्तोष शर्मा, नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रभाकर मिश्र, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अनिलकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख कविराज निरिक्षण, बज्रभुषण झा लगायतको उपस्थिती रहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले आयुर्वेदले आम मानिसलाई धेरै फाइदा हुने भएकोले यसको प्रवद्र्धनमा सबैले मिलेर सहयोग गर्नु पर्ने आवश्यकता रहेको बताए ।
नेपाल आयुर्वेद चिकित्सा परिषदका रजिष्टार तथा पंचकर्म विज्ञ डा. निर्मल भुषालले नेपालगन्ज उपमहानगरपालिकाले आयुर्वेदको विकास र प्रवद्र्धनमा गरेको प्रतिवद्धता निकै सकारात्मक रहेको बताए । यसले बाँकेमा आयुर्वेदको विकासमा टेवा पुग्ने डा. भुषालले धारणा राखे ।
शनिबार शिविरमा आएका बिरामीहरुलाई कन्सल्टेन्ट शल्यविज्ञ डा. मदन भण्डारी, कन्सल्टेन्ट पंचकर्म विज्ञ डा. निर्मल भुषाल, डा. शिवराज सुवेदी, डा. प्रतिभा केसी गौतम, डा. गीता रेग्मी, डा. विजयकिशोर ठाकुर सहितको टिमले स्वास्थ्य परीक्षण गर्नेछ । विहान ७ बजेर ३० मिनेट देखि सुरु भएको शिविर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलमा भएको थियो ।
निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर कार्यक्रमका संयोजक डा. मनोज कुमार यादवले शिविरमा उत्साहजनक रुपमा नागरिकको सहभागिता रहेको बताए । शिविरमा आएका बिरामीलाई योग पनि सिकाईएको थियो । शिविरमा आएका बिरामीलाई रोग अनुसारको योग सिकाउँदै योगको फाईदा, कस्तो बिरामीले कुन योग गर्न हुन्छ, कुन गर्न हुदंैन भन्ने बारेमा प्राविधिक ज्ञान समेत प्रदान गरिएको थियो ।
शिविरमा विशेष गरी पाचन प्रणाली सम्बन्धी समस्याहरु पाइल्स, फिस्टुला, फिसर, बवासीर, दिसा रगतजाने, मलद्धार वरिपरि घाउ खटिरा हुने, चिलाउने, पोल्ने, घाँटी पोल्ने, अपच हुने, गानोगोला, जण्डिस, हेपा टाईटिस, मुत्र प्रणाली सम्बन्धी रोग, महिला सम्बन्धी रोगहरु, योन रोग, नसा तथा छाला सम्बन्धी रोग र स्नायी तथा मांसपेशी सम्बन्धी रोगहरुको चेकजाँच गरिएको थियो ।
शिविरमा परिक्षण गर्न आएका बिरामीले एक महिनाको अवधिमा पुनः स्वास्थ्य परिक्षण गर्नु परेमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षणसँगै ल्याब, पंचकर्म र औषधीमा पाँच प्रतिसत छुट, पाइल्स, फिसर, फिस्टुला, पाइलोनाइडल साइनस, क्षारसुत्रमा १० प्रतिसत छुट दिएको हस्पिटलको लेखा तथा व्यवस्थापन प्रमुख प्रिन्सी मिश्रले जानकारी दिईन् ।
शिविरमा नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटका कर्मचारीले सहयोग गरेका थिए । अस्पतालका प्रिन्सी मिश्र, पदमा थापा, सन्जिवकुमार थारु, सम्झना चौधरी, लक्ष्मी थापा, सन्दिप अधिकारी, जीवन शर्मा, जनक बडवाल, केशव रोकाय, शिवपाल नाउ तथा नेपालगन्ज हेल्थ क्याम्पसबाट बबिता थापा, रागिनी थारु, सेराज तेली, आदित्य वैश्य, लक्ष्मी सलामी मगर, रोश्नी थापा, एलिना न्यौपाने र विकास कुसारीले सहयोगीको रुपमा काम गरेका थिए ।
