
काठमाण्डौ, १० चैत – दोस्रो विश्वयुद्धपछि विश्वको भूराजनीतिमा चीन, रुस र अमेरिकाको त्रिकोणात्मक प्रभाव रहेको छ। सन् १९५० ताका माओत्सेतुङ र जोसेफ स्टालिनबिचको सहकार्यलाई तोड्न र कम्युनिस्टहरूको विस्तारलाई रोक्न अमेरिका सक्रिय रहेको थियो। यही उद्देश्य हासिल गर्न अमेरिकाले कोरिया र भियतनाममाथि आक्रमण गर्यो। अमेरिकाले ताइवानको सुरक्षाका लागि प्रतिबद्धता व्यक्त गरे पनि सो समयमा विश्वका अन्य स्थानमा भने विभिन्नखाले प्रोक्सी लडाइँ छेडिएका थिए।
तर त्यसको एक दशकपछि निकिता ख्रुस्चेफसँगको मतभेद देखिएपछि अमेरिकाले चीनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेर मेलमिलापको हात अगाडि बढाएको थियो। यही कारण अफगानिस्तानमा रहेका रुसी सैनिकविरुद्ध चीनले गुप्त सहयोग गरेकाले चीनलाई आफ्ना आर्थिक वृद्धिका गतिविधिलाई तीव्र पार्न सहयोग पुगेको थियो र विश्वव्यापी शक्तिको रूपमा उदय भएर चीनले अमेरिकालाई चुनौती दिनसक्ने हैसियत बनाएको थियो। तर अहिले त्यही त्रिकोणात्मक समीकरणमा परिवर्तन देखिएको छ। सोमबारदेखि चिनियाँ नेता चिनफिङ रुसको तीनदिने भ्रमणमा छन्। गत वर्ष युक्रेनमाथि रुसी आक्रमणपछि पहिलो पटक चिनियाँ नेताले रुसको भ्रमण गरेका हुन्। रुससँगको एकताको बलियो प्रदर्शन गर्ने उद्देश्यले यो भ्रमण गरिएको बताइन्छ। भ्रमणको अवसरमा रुसले घातक हतियार, आक्रमण गर्नसक्ने ड्रोन तथा अर्टिलरी गोलाबारुद आपूर्ति गर्न चीनसँग अनुरोध गर्ने अमेरिकी अधिकारीको ठम्याइ छ। यदि रुसी अनुरोधलाई चीनले स्वीकार गर्यो भने यसले नाटोसँग चीनको प्रोक्सी युद्ध सुरु हुनेछ।
भ्रमणको उद्देश्य शान्ति स्थापनाका लागि रहेको र हातहतियारको विषय समावेश नरहेको चिनियाँ दाबी छ। गत फेब्रुअरीमा रुस–युक्रेन युद्धविरामका लागि चीनले प्रस्तुत गरेको १२बुँदे प्रस्तावका विषयमा छलफल गर्न र जारी युद्ध अन्त्य गर्ने दिशामा पहलकदमी लिन भ्रमणकेन्द्रित रहने चिनियाँ तर्क छ।
कुनै पनि देशको भौगोलिक अखण्डताप्रति सम्मान र आणविक हतियारलगायत कुनै पनि हतियारको प्रयोग गर्न नपाइने आफ्नो यसअघिको धारणालाई राष्ट्रपति चिनफिङले दोहोर्याउने बताइएको छ। गत मार्च १० मा साउदी अरेबिया र इरानबिच कूटनीतिक सम्बन्धको पुनस्र्थापना गर्न आफूले खेलेको भूमिकालाई आफ्नो शान्ति स्थापनाको प्रामाणिक क्षमता भनेर चीनले महत्व दिँदै आएको छ। रुसी भ्रमणप्रतिको पश्चिमा आलोचनालाई मत्थर गर्न चिनियाँ राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भर्चुअल संवादसमेत गर्नसक्ने आकलन गरिएको छ। यदि त्यसो भए यो युक्रेनमाथि रुसी आक्रमणपछिको चीनियाँ तथा युक्रेनी नेताबिचको पहिलो औपचारिक संवाद हुनेछ। यसले गरिब तथा मध्यम आय भएका राष्ट्रहरूमा आशाको सञ्चार गर्नेछ र चीनप्रति कम आक्रामक हुन कतिपय पश्चिमा राष्ट्रले अमेरिकालाई यसअघि दिँदै आएको दबाबलाई थप बल पुग्नेछ।
