Sunday, April 26सत्यम खबर
Shadow

मुस्ताङमा बन्न लागेको बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन : मुस्ताङ साक्या बौद्ध संघ

काठमाण्डौ, २५ फागुन – साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती निकाल्दै विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएका समाचारको खण्डन गरेको हाे।

बौद्ध दर्शनको संरक्षणका लागि भौतिक संरचना निमार्ण गर्न भारतीय दुतावासलाई अनुरोध गरेको र सो अनुसार स्थानीय दाताहरुले भूमिदान गरी बौद्ध कलेज स्थापना गर्न लागिको संघले प्रस्ट पारेको छ । ‘यस्ता प्रकारका समाचारले स्थानीय समुदाय, विभिन्न धर्म सम्प्रदाय तथा छिमेकी मित्र राष्ट्रका बिचसमेच कुटनितिक दरार सिर्जना गर्ने हुँदा समाचार प्रकाशित गर्नुपूर्व गम्भिरताकासाथ सोच्न समेत अनुरोध गर्छौ ।’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

समाचारका साथै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ। ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ।

ओलीले शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजना गरेको कार्यक्रममा ‘उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको’ टिप्पणी गरेका थिए।

संघले भनेको छ, ‘कलेज कुनै पनि विदेशी विद्यार्थीको अध्ययनलाई लक्षित नगरी मुस्ताङ क्षेत्र र नेपालको जुनसुकै स्थानबाट बौद्ध दर्शन अध्ययन गर्न इच्छुक बौद्ध भिक्षु र भिक्षुणी विद्यार्थीहरूका लागि लक्षित रहेको छ । नेकपा एमालेका अध्यक्ष वरिष्ठ नेता केपी शर्मा ओलीज्यूको सम्बोधनका क्रममा अभिव्यक्त टिप्पणी अनुसार यो परियोजना कुनै विश्वविद्यालय स्थापना नभई दुई वर्ष पहिले नै स्थापित मुस्ताङ बौद्ध कलेजको लागि भवन निर्माण कार्यका लागि मात्र केन्द्रित रहेको र यस परियोजनामा भारत सरकारको कुनै पनि कूटनैतिक र रणनीतिक स्वार्थ निहित नरहेको कुरा मुस्ताङ साक्या बौद्ध संघ स्पष्ट पार्न चाहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *