
मनिषा क्षेत्री
काठमाण्डौ, १५ फागुन – श्रीलंकाजस्तै कंगाल हुने अवस्थामा पुगेको पाकिस्तानलाई यस महासंकटमा पुऱ्याउनमा चीनले पनि ठूलो भूमिका निर्वाह गरेको छ । चीन र पाकिस्तान दुवैले एकार्कालाई आइरन ब्रदर्स भएको दाबी गर्दछन् तर अहिले आएर अमेरिकाले यी दुई देशको यो कथित मित्रताको पर्दाफास गरेको छ । अमेरिकाले पाकिस्तान मात्र नभई विश्वका अन्य देशले पनि चीनको ऋणलाई लिएर निकै सजग रहनुपर्ने बताएको छ । चीनमाथि आइपरेको कुल विदेशी ऋणको ३० प्रतिशत पाकिस्तानलाई चीनले दिएको छ । पाकिस्तानसँग हाल १०० अर्ब डलरको विदेशी ऋण छ र यसको विदेशी मुद्रा सञ्चिति मात्र ३ अर्ब डलर छ। यसरी पाकिस्तानमा चीनको ३० अर्ब डलर ऋण छ ।
हाल पाकिस्तान व्यापक आर्थिक सङ्कटसँग जुझिरहेको छ र महाकंगालीको अवस्थामा पुगेको छ र पाकिस्तान डिफल्ट हुने खतरा पनि बढिरहेको छ। यदि पाकिस्तानले विदेशी ऋणको किस्ता फिर्ता गर्न सकेन भने, त्यो डिफल्ट घोषित हुनेछ। अमेरिकाले अहिले पाकिस्तानमाथि चीनको बढ्दो ऋणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका काउन्सिलर डेरेक चोलेटले बिहीबार पाकिस्तानको राजधानी इस्लामावादमा चीनको बढ्दो ऋणलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। पाकिस्तान ऐतिहासिक रूपमा अमेरिकासँग नजिक रहे पनि अहिले आएर भारतसँग शत्रुता निभाउनका लागि चीनको शरणमा गएर पाकिस्तानले ठुलो गल्ती गरेको कुरा अमेरिकाले औँल्याइरहेको छ।
चीन हाल पाकिस्तानलाई व्यापक मात्रामा ऋण दिने राष्ट्र बनेको छ, अहिले पाकिस्तानमाथि चीनको ३० अर्ब डलरको ठूलो ऋण छ । विदेशी मुद्रा सञ्चितिको अभावका कारण पाकिस्तानले अहिले ऋण तिर्न असमर्थ छ । चोलेटले भने, “हामीले यहाँ पाकिस्तानमा मात्र नभई विश्वका अन्य देशहरूमा पनि बढ्दो चिनियाँ ऋण वा चिनियाँ स्वामित्वको ऋणको बारेमा हामी चिन्ताको बारेमा एकदमै स्पष्ट हुनुपर्दछ।” उनले पाकिस्तानी अधिकारीसँग पनि भेट गरेका छन्। आईएमएफको रिपोर्ट अनुसार पाकिस्तानको कुल विदेशी ऋणको ३० प्रतिशत चीन र चीनका वाणिज्य बैंकहरूले दिएको छ ।
चीनले पाकिस्तानलाई दिएको ऋणको ठूलो हिस्सा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत रहेको चीन–पाकिस्तान आर्थिक करिडोरका लागि हो। चोलेटले भने कि अमेरिकाले पाकिस्तानी पैसामा चीनसँग मित्रताको “खतरा” को बारेमा कुरा गरिरहेको छ तर इस्लामबादले वाशिंगटन र बेइजिङ बीचको छनौट गर्नुपर्छ भन्न चाहँदैनन्। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो तर अब इमरान सरकार गएपछि सम्बन्धमा फेरि मिठास आएको छ । अमेरिकाले चीन अहिले सबैभन्दा ठूलो ऋणदाता देश भएको र ऋण संकटलाई राहत दिन ठूलो बाधक बनेको बताएको छ ।
अर्कोतिर पाकिस्तानको खस्कँदै गएको अर्थतन्त्रका बीच चीनले आफ्नो तथाकथित सबैभन्दा मिल्ने मित्रको साथ छोडेको छ । चीनले इस्लामाबादस्थित आफ्नो दूतावासको व्यावसायिक शाखा कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। तर, चीनले यसको स्पष्ट कारण भने दिएको छैन । व्यापार शाखा कार्यालय गत फागुन १३ गतेदेखि बन्द छ । यो कार्यालय कहिलेसम्म फेरि खोल्ने र बन्द गर्नुको कारण के हो भन्ने पनि चिनियाँ पक्षबाट भने बताइएको छैन। चिनियाँ दूतावासको आधिकारिक वेबसाइटमा यो घोषणा गरिएको छ। चीनले संकटमा पाकिस्तानलाई साथ दिएको छैन। यस कुराबाट चीनको स्वार्थी प्रवृत्ति झल्कन्छ।
