नेपालगन्ज ५ असोज – गत भाद्र २९ गतेदेखि अनशनरत डा. गोविन्द केसीकोे सत्याग्रहलाई सर्मथन गर्दै नेपालगन्जका नागरिक समाजका अगुवाहरुले उहाँको जिवन रक्षाका लागि नागरिक अपिल गरेका छन् ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा आईतबार बसेको बैठकले डा. केसीका मागहरु नेपाली जनताको हितमा रहेको भन्दै उहाँको मागहरुलाई सरकारले तत्काल सम्बोधन गरि जिवन बचाउन अपिल गरेको हो । पटक–पटक सत्याग्रह बस्नुभएका डा. केसीको अभियानप्रति एक्यबद्धता जनाई मुलुकमा भ्रष्टाचारको अन्त्य, विधीको शासन, चिकित्सा क्षेत्रको सुधार, कोभिड–१९ महामारीपछि उत्पन्न समस्याको समाधान लगायतका माग जायज रहेकाले सरकारलाई सम्बोधन गर्न नागरिक अपिल गरिएको छ ।
बैठकले भोली डा. केसीले उठाउनु भएको मागको सम्बोधन र उहाँको जिवन रक्षाका लागि दबाब दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन प्रशासनमार्फत ध्यानाकर्षण पत्र दिने र साँझ उहाँको जिवन रक्षाको प्रथनाका लागि मैनवत्ती प्रज्वलन गर्ने निर्णय गरेको छ । बैठकमा कोरोनाको महामारीमा सामाजिक दुरीको पालना गरि गरिएको बैठकमा नेपालगन्जका करिब एक दर्जन अगुवाहरुको सहभागिता रहेको थियो ।