
नेपालगन्ज, ११ पौष – आजदेखि विगतमा भए गरिएका सहमतीहरुलाई कार्यान्वयन नगरिएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सि· होमका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।
नर्सिङ्ग होमका कर्मचारी संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठनका सभापति रत्ना गिरी तथा महासचिव के.पी. घिमिरेद्वारा जारी विज्ञाप्तीमा “लर्ड बुद्ध एजुकेशनल एकेडमी लि. नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज मध्य तथा सुदूर पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक स्वास्थ्य संस्था भएको सर्व विदितै छ । यस संस्थामा करिब १४०० जना चिकित्सक तथा कर्मचारीहरु कार्यरत रहेका छौं । २०७८ असार ९ गते यस संस्थामा रहेका कर्मचारी युनियनहरुले विभिन्न माग राखि आन्दोलन गरे पश्चात २०७९ बैशाख १० गते कर्मचारी युनियन, व्यवस्थापन पक्ष र श्रम तथा रोजगार मन्त्रालय काठमाण्डौका बिच ७ बूँदे सहमति भएको थियो” उल्लेख गरिएको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ– “सहमती भएको विषयहरु २०७९ असार मसान्त सम्ममा कार्यान्वयन गर्ने र कर्मचारीहरुको तलब भत्ता प्रत्येक महिनाको ५ गते भित्रमा दिई सक्ने सहमती भएता पनि २०७९ असोज महिनादेखि तलब भत्ता नपाएको तथा सहमती भएका उपदान रकम व्यक्तिगत खाता खोलेर राखिदिने, कर्मचारीहरुको स्थायी, बढुवा र सामाजिक सुरक्षा कोषमा जम्मा नगरिदिएको फरक रकम नदिएको लगायतका सहमती कार्यान्वयन नभएको साथै नियमित प्रक्रियामा हुने गरेका काम कारवाही अवरुद्ध हुँदा, पटक पटक ध्यानाकर्षण र पत्राचार गर्दा समेत सहमती कार्यान्वयन वेवास्ता गरिएकोले कर्मचारी संगठन बाध्य भएर आन्दोलनमा जानुको विकल्प नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कर्मचारी संगठन क्षमा प्रार्थी छ” भनी सभापति गिरी र महासचिव घिमिरे हस्ताक्षरित प्रेस विज्ञाप्ती जारी गरिएको छ ।
