Sunday, April 26सत्यम खबर
Shadow

राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका १३ समानुपातिक सांसद

काठमाण्डौ, २६ मंसिर – पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट जितेको छ । रवि लामिछाने सभापति रहेको रास्वपा पार्टी गठन भएको छोटो समयमा चुनावमा जाँदा पनि २० सिट जित्न सफल भएको छ।

रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ १३ सिट पाएको छ।

काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं- ७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, ललितपुर-३ मा तोसिमा कार्की, चितवन- १ मा हरि ढकाल र चितवन-२ मा रवि लामिछाने प्रत्यक्षतर्फ निर्वाचित भए।

रास्वपाले प्रदेश सभा निर्वाचनमा भने भाग लिएको थिएन।

रास्वपाले मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको थियो। यो पार्टी २० सिटसहित प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको छ।
Esewa
nic

रास्वपाले प्रतिनिधि सभा समानुपातिकमा समावेशी सिद्धान्तअनुसार आयोगमा १३ जनाको नाम पठाएको हो। रास्वपाले गत असोजमा गरेको प्राइमरी इलेक्सनअनुसार बन्द सूचीमा उम्मेदवारको नाम क्रम मिलाएर राखेको थियो, सांसद चयन गर्दा उक्त क्रमअनुसार नै पठाइएको रास्वपाले जनाएको छ।

रास्वपाले समानुपातिकतर्फ छानेका १३ सांसद को हुन् त? उनीहरूको विगत के थियो? हामीले यहाँ संक्षिप्त रूपमा उल्लेख गरेका छौं:

१. डा. ढाकाकुमार श्रेष्ठ

कास्कीका ढाकाकुमार श्रेष्ठ चिकित्सक हुन्। ४६ वर्षका उनलाई रास्वपाले समानुपातिकतर्फ सांसद बनाएको छ। उनलाई रास्वपाले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेको थियो। उनी रास्वपाको गण्डकी प्रदेश सभापतिसमेत हुन्। उनले क्षेत्रीय अस्पताल पोखरामा कामसमेत गरेका थिए।

२. इन्दिरा राना मगर

इन्दिरा राना मगर झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको छ। उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्। उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन्। बा-आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा उनले सहयोग गर्दै आइरहेकी छन्।

३. सुमना श्रेष्ठ

काठमाडौंकी सुमना श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। ३७ वर्षकी सुमनालाई रास्वपाले आदिवासी जनजाति क्लस्टरमा राखेको थियो। उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन्। उनले भूकम्प तथा कोरोनाका बेला परामर्शदातासमेत रहेर काम गरेकी थिइन्।

४. असिम शाह

रास्वपाले फिल्म निर्माता तथा निर्देशक असिम शाहलाई सांसद बनाएको छ। ४१ वर्षका उनलाई मुश्लिम पुरूषतर्फ पहिलो नम्बरमा नाम राखिएको थियो। उनी काठमाडौंका हुन्। राजनीतिमा सक्रिय हुनु अघि असिम चलचित्र क्षेत्रमा सक्रिय थिए। उनले २ रूपैयाँ फिल्मसमेत बनाएका थिए।

५. मनीष झा

धनुषाका मनीष झालाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। ४२ वर्षका उनको नाम रास्वपाले मधेशी पुरूषतर्फ पहिलो नम्बरमा राखेको थियो। मनीष पहिले पनि राजनीतिमै थिए। उनी लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय थिए। उनले नेविसंघबाट राजनीति थालेका थिए। मनीष फ्याक्ट नेपालका प्रमुखसमेत हुन्।

६. लक्ष्मी तिवारी

बाँकेकी लक्ष्मी तिवारी रास्वपाबाट सांसद बनेकी छन्। ४७ वर्षकी उनलाई रास्वपाले मधेशी महिला क्लस्टरतर्फ पहिलो नम्बरमा राखेको थियो। उनी सामाजिक अभियन्ता थिइन्।

७. डोलप्रसाद अर्याल 

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल समानुपातिक सांसद भएका छन्। धादिङ घर भएका ४८ वर्षका उनलाई पार्टीले खसआर्यतर्फ पहिलो नम्बरमा राखेको थियो। उनी राजनीतिमा आउनु भन्दा पहिले पर्यटन व्यवसायी थिए।

८. डा. चन्दा कार्की

चन्दा कार्की चिकित्सक हुन्। ६३ वर्षकी उनलाई रास्वपाले खसआर्य महिलातर्फ पहिलो नम्बरमा राखेको थियो। उनी ललितपुरकी हुन्। उनी प्रसुति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी काठमाडौं मेडिकल कलेजको पूर्वसिइओ हुन्। उनले बिएन्डबी अस्पतालमा समेत काम गरेकी थिइन्।

९. निशा डांगी

झापाकी निशा डांगीलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। २५ वर्षे निशा पत्रकार थिइन्। उनलाई पार्टीले खसआर्य महिलातर्फ बन्दसूचीमा नाम राखेको थियो। उनले स्वास्थ्य बिटमा रहेर अनलाइन तथा टेलिभिजन पत्रकारिता गरेकी थिइन्।

१०. अशोककुमार चौधरी

सुनसरीका अशोककुमार चौधरीलाई रास्वपाले सांसद बनाएको छ। ३९ वर्षका उनलाई पार्टीले थारू क्लस्टरको पहिलो नम्बरमा राखेको थियो। उनी डोरीतान खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन्।

११. सन्तोष परियार

भक्तपुरका सन्तोष परियारलाई रास्वपाले सांसद बनाएको छ। दलिततर्फ पहिलो नम्बरमा बन्द सूचीमा उनको नाम थियो। ३९ वर्षीय उनी राजनीतिमा आउनुअघि शिक्षक थिए।

१२. शिव नेपाली

कास्कीका शिव नेपाली रास्वपाबाट समानुपातिक सांसद भए। उनको नाम पार्टीले समानुपातिकतर्फ दलित क्लस्टरको दोस्रो नम्बरमा राखेको थियो। उनी रास्वपाको पोखरा महानगर समितिका सदस्यसमेत हुन्।

१३. विनिता कठायत

जुम्लाकी विनिता कठायतलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ। २६ वर्षकी उनको नाम खस आर्यतर्फ पिछडिएको क्षेत्र क्लस्टरमा राखेको थियो। उनी राजनीतिमा आउनुअघि पत्रकार थिइन्। ग्यालेक्सी फोरके टिभीको सिधा कुरा जनतासँग कार्यक्रममा उनी कार्यरत थिइन्। सेतोपार्टी अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *