Friday, November 22सत्यम खबर
Shadow

कांग्रेसले छानेका ३२ समानुपातिक सांसद को हुन्, के हो उनीहरूको विगत ?

काठमाण्डौ, २६ मंसिर – नेपाली कांग्रेसले यसपालि प्रतिनिधि सभा समानुपातिकतर्फ सांसद चयन गर्दा अधिकांश नयाँ अनुहारलाई प्राथमिकता दिएको छ।

समावेशी सिद्धान्तअनुसार कांग्रेसले प्रतिनिधि सभातर्फ ३२ जना समानुपातिक सांसदको नाम चयन गरी निर्वाचन आयोगमा शनिबार बुझाएको हो। निर्वाचन आयोगले यी उम्मेदवारहरू सांसद निर्वाचित भएको घोषणा सम्भवत: सोमबार गर्नेछ।

कांग्रेसले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ५७ सिट जितेको छ। प्रत्यक्षका १६५ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनका दलहरूसँग तालमेल गरी कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो, जसमा ३४ जना उम्मेदवार भने पराजित भए।

समानुपातिकतर्फ पटक-पटक अवसर पाएकाहरूलाई कांग्रेसले यसपालि दोहोरिन दिएन। कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई यसपालि नदोहोर्‍याउने नीति लिएको थियो।

कांग्रेसले ३२ जना सांसद पठाएकोमा यसअघि अवसर नपाएका २२ जना छन् भने एक जना नवप्रवेशी छिन्। ९ जना भने यसअघि पनि पटक-पटक अवसर पाएका नेताहरूलाई नै कांग्रेसले दोहोर्‍याएको छ।

कांग्रेसले सांसद पठाएकामध्ये २३ जना सभापति शेरबहादुर देउवानिकट छन् भने ९ जना संस्थापनइतर समूहका छन्। कांग्रेसले समानुपातिक सांसद बनाएकाहरूको संक्षिप्त पृष्ठभूमि यस्तो छ।
१. जीवन परियार

कांग्रेस सहमहामन्त्री जीवन परियार दलित क्लस्टरबाट प्रतिनिधि सभामा सांसद बनेका छन्। उनी कास्की १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थे। सुरूमा यो क्षेत्र गठबन्धनबाट माओवादीले लिने भनेपछि परियारलाई समानुपातिकतर्फ राखिएको थियो। पछि यो क्षेत्रमा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाए। उनी पराजित भए।

कांग्रेसले समानुपातिकमा पाएको ३२ सिटमध्ये २९ जना महिला पठाउनुपर्ने थियो। ३ जना पुरूष सांसद छान्न कांग्रेसलाई सकस परेको थियो। सहमहामन्त्री परियार १४ औं महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट निर्वाचित भएका थिए। परियारलाई सांसद बनाउन संस्थापनइतर समूहले अडान राखेको थियो। अन्तत: परियार सांसद बनेका छन्।

२०७४ को चुनावमा कास्की १ को प्रदेश सभा १ बाट परियार पराजित भएका थिए। उनी संविधान सभा सदस्य पनि भइसकेका थिए। उनी १२ औं महाधिवेशनदेखि केन्द्रीय सदस्य हुँदै १४ औं महाधिवेशनमा सहमहामन्त्री बनेका हुन्।

२. प्रकाशशरण महत

प्रकाशशरण महत कांग्रेसका प्रवक्ता हुन्। उनको नाम समानुपातिकतर्फ खसआर्य समूहको पहिलो नम्बरमा थियो। महतलाई कांग्रेसले सांसद बनाएको छ। उनी सभापति देउवानिकट छन्। देउवाले यसअघि महतलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी दिएका थिए। कांग्रेसको १४ औं महाधिवेशनमा महत महामन्त्री उठे पनि पराजित भएका थिए। आफ्नो समूहबाट महामन्त्रीमा पराजित भएका महतलाई महाधिवेशनपछि पनि महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन्।

महत नुवाकोट १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थे। नेकपा माओवादीसँग चुनावी तालमेल गर्दा यो क्षेत्र माओवादीले पायो। त्यसपछि महत समानुपातिक सूचीमा बसेर चुनावअघि देशैभर प्रचारमा हिँडेका थिए। महत देउवाका विश्वास पात्र हुन्। उनले लामो समयदेखि देउवालाई साथ दिँदै आएका छन्। महत ०७४ को चुनावमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए।

३. विमलेन्द्र निधि

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि मधेशी क्लस्टरबाट समानुपातिक सांसद भएका छन्। १४ औं महाधिवेशनमा निधि सभापति उठेर पराजित भएका थिए। उनले दोस्रो चरणको चुनावमा सभापतिमा देउवालाई सहयोग गरेका थिए।

निधि देउवानिकट हुन्। २०३८ सालमा नेविसंघ सभापति भएदेखि नै निधिले देउवालाई सहयोग गर्दै आएका थिए। निधि यसअघि सांसद र पटक-पटक मन्त्रीसमेत भइसकेका छन्। तर २०७४ को चुनावमा निधि धनुषाबाट पराजित भएका थिए। यसपालि उनी धनुषाबाट चुनाव नलडेर समानुपातिकतर्फ बसेका हुन्।

४. आरजु राणा देउवा

आरजु नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। आरजुले २०७४ मा कैलाली ५ मा चुनाव हारेकी थिइन्। उनी यसपटक समानुपातिक सांसद बनेकी हुन्। आरजुलाई समानुपातिक सूचीमा राखेपछि पार्टीभित्र र बाहिर पनि देउवाको आलोचना भएको थियो। आरजु समानुपातिक कोटाबाटै संविधान सभा सदस्यसमेत भएकी थिइन्।

५. मन्जु खाण

मन्जु खाणले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिसकेकी छन्। उनी कांग्रेस नेता बालकृष्ण खाणको श्रीमती हुन्। गृहमन्त्रीसमेत रहेका बालकृष्ण रूपन्देही ३ बाट प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भए। श्रीमान प्रत्यक्षतर्फ र श्रीमती समानुपातिकतर्फ उम्मेदवार बनाएको भन्दै कांग्रेसभित्र खाणको आलोचना पनि भएको थियो। उनीहरू सभापति देउवानिकट छन्। मन्जुले सिरहाबाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन् तर पाइनन्।

६. अम्बिका बस्नेत

काठमाडौंकी अम्बिका बस्नेत कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। उनी सभापति देउवा समूहकी हुन्। २०७४ को चुनावमा उनी काठमाडौं -३ बाट पराजित भएकी थिइन्। महिला संघको पूर्वअध्यक्षसमेत रहेकी उनी २०६४ र २०७० मा संविधान सभा सदस्यसमेत भएकी थिइन्। उनी कांग्रेसको १२ औं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य पनि छन्। उनी एकपटक सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत बनेकी थिइन्।

७. ईश्वरी न्यौपाने

कैलालीकी ईश्वरी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनले लामो समय महिला संघमा काम गरिन्। उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन्। उनी खसआर्य महिलातर्फ समानुपातिक सूचीमा परेकी थिइन्।

न्यौपाने कैलाली -१ बाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन्। तर उनलाई पार्टीले समानुपातिकतर्फ राखेको थियो। २०७४ को चुनावमा न्यौपाने कैलाली १ बाट पराजित भएकी थिइन्। उनी सभापति देउवानिकट हुन्।

८. रमा कोइराला पौड्याल

रमा कोइराला पौड्याल कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। उनलाई पार्टीले खसआर्य महिलातर्फ प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको थियो। भोजपुरकी उनी १३ औं महाधिवेशनपछि आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन्। उनी सभापति देउवा पक्षकी हुन्।

९. कान्तिका सेजुवाल

जुम्लाकी कान्तिका सेजुवाल कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्य जितेकी थिइन्। उनलाई पार्टीले समानुपातिक सांसदको सूचीमा राखेको थियो। उनी २०७४ मा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर निर्वाचित भएकी थिइन्। उनी त्यसअघि शिक्षक थिइन्। सेजुवाल पनि सभापति देउवा समूहकी हुन्।

१०. सरस्वती बजिमय

खोटाङकी सरस्वती बजिमय १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। उनलाई पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजातिको पहिलो नम्बरमा राखेको थियो। उनी सभापति देउवानिकट हुन्। उनले महिला संघको केन्द्रीय कोषाध्यक्ष भएर पनि काम गरेकी थिइन्। बजिमय संविधान सभा सदस्य पनि थिइन्।

११. सीताकुमारी राना

दैलेखकी सीताकुमारी राना कांग्रेस केन्द्रीय सदस्य हुन्। उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजाति सूचीमा राखिएको थियो। उनले लामो समयदेखि नेपाल महिला संघमा रहेर काम गर्दै आएकी थिइन्। उनी सभापति देउवा पक्षकी हुन्।

१२. सुशीला थिङ

सुशीला थिङ सिन्धुलीकी हुन्। उनले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्। सुशीलाले सिन्धुली २ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन्। सिन्धुली २ मा तालमेल गर्दा माओवादीलाई भाग परेपछि उनलाई पार्टीले समानुपातिकतर्फ राखेको थियो। उनी पनि सभापति देउवानिकट हुन्।

१३. माया राई

भोजपुरकी माया राई कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले लामो समय नेविसंघमा छात्रा विभाग प्रमुख भएर पनि काम गरेकी थिइन्। उनी सभापति देउवानिकट हुन्। उनलाई पार्टीले यसपालि आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सूचीमा राखेको थियो।

१४. मनोरमा शेरचन

रूपन्देहीकी मनोरमा शेरचनले नेपाल महिला संघमा लामो समय काम गरेकी थिइन्। पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ आदिवासी जनजाति सूचीमा उनको नाम राखेको थियो। यसअघि सभापति देउवाले उनलाई कांग्रेस महिला विभागको सदस्य मनोनीत गरेका थिए। उनी सभापति देउवा समूहकी हुन्।

१५. अन्जनी श्रेष्ठ

काठमाडौंकी अन्जनी श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी प्रतिनिधि सभामा समानुपातिक सांसद भएकी छन्। उनी चितवन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ उम्मेदवार हुन खोजेकी थिइन्। तर यो क्षेत्र गठबन्धन गर्दा माओवादी केन्द्रलाई परेपछि अन्जनी समानुपातिकतर्फ बसेकी थिइन्। उनी सभापति देउवानिकट हुन्।

१६. शान्ति परियार विक

चितवनकी शान्ति परियार विक कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी दलित महिलातर्फ प्रतिनिधि सभा समानुपातिक सूचीमा थिइन्। उनी सभापति देउवानिकट हुन्।

१७. रूपा विक

पाल्पाकी रूपा विक कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। उनी सभापति देउवानिकट हुन्।

१८. आशा विक

बाँकेकी आशा विक प्रतिनिधि सभातर्फ दलित क्लस्टरबाट सांसद भएकी छन्। उनी प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन्। उनको नाम बाँके क्षेत्र नम्बर ३ बाट सिफारिस पनि भएको थियो। यो क्षेत्रमा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार भई निर्वाचित भए। किशोरसिंहले टिकट पाएपछि आशालाई समानुपातिकतर्फ राखिएको थियो।

१९. नागिना यादव

मकवानपुरकी नागिना यादव कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। यादवलाई कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा राखेको थियो। यादव कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य रहेर पनि काम गरेकी थिइन्। उनी सभापति देउवानिकट हुन्। उनले महोत्तरी २ बाट प्रत्यक्ष चुनाव लड्न चाहेकी थिइन्।

२०. चन्दा चौधरी

सर्लाहीकी चन्दा चौधरी कांग्रेसमा नवप्रवेशी हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर चुनावअघि कांग्रेस प्रवेश गरेकी थिइन्। बालुवाटारमा सभापति देउवाले चौधरीलाई कांग्रेसमा प्रवेश गराएका थिए। उनी २०७४ मा तत्कालीन राजपाबाट सांसद बनेकी थिइन्। उनी महिला बालबालिका मन्त्रीसमेत भइसकेकी छन्।

२१. संगीता मण्डल धानुक

महोत्तरीकी संगीता मण्डल धानुक महोत्तरी ४ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन्। उनको नाम सिफारिस भए पनि उनले प्रत्यक्षतर्फ टिकट पाइनन्। समानुपातिकतर्फ प्रतिनिधि सभामा उनको नाम राखिएको थियो। उनी मधेशी क्लस्टरबाट सांसद भएकी छन्। उनी सभापति देउवानिकट हुन्।

उनी यसअघि संविधान सभा सदस्य पनि भएकी थिइन्। उनको उम्मेदवारी खारेजीका लागि निवेदन परेर विवादितसमेत बनेको थियो। उनी आदिवासी जनजाति भएको र मधेशी क्लस्टरमा राखिएकोमा उजुरी परेको थियो।

२२. जावेदा खातुन जागा

बर्दियाकी जावेदा खातुन जागा कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनमा मुश्लिम क्लस्टरबाट केन्द्रीय सदस्य जितेकी थिइन्। उनी सभापति देउवानिकट हुन्। उनको नाम कांग्रेसले मुश्लिम क्लस्टरबाट प्रतिनिधि सभा समानुपातिकमा राखेको थियो। उनले कांग्रेसको निर्वाचन प्रचार समितिमा रहेर कामसमेत गरेकी थिइन्।

२३. कल्पना चौधरी

सुनसरीकी कल्पना चौधरी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनबाट थारूतर्फ केन्द्रीय सदस्य बनेकी थिइन्। विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट २०७४ को चुनावअघि नै कांग्रेसमा समाहित भएपछि उनी कांग्रेसमा क्रियाशील छिन्। समायोजनपछि कांग्रेसले २०७६ फागुन २३ मा उनलाई केन्द्रीय सदस्यमा मनोनीतसमेत गरेको थियो। उनी पनि सभापति देउवानिकट छिन्।

२४. बिनाकुमारी थनेत

नवलपरासी पूर्व नवलपुरकी बिनाकुमारी थनेत कांग्रेस महासमिति सदस्य हुन्। उनलाई कांग्रेसले थारू क्लस्टरबाट प्रतिनिधि सभा समानुपातिक सांसद बनाएको छ। उनी सभापति देउवानिकट छिन्। उनी नवलपुर १ मा लामो समयदेखि समाजसेवा र कांग्रेस राजनीतिमा सक्रिय छिन्।

२५. सरिता प्रसाईं

झापाकी सरिता प्रसाईं कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनमा खुलातर्फ महिलामा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्, नेता शेखर कोइराला समूहबाट। प्रसाईं २०७४ मा प्रदेश नम्बर १ बाट राष्ट्रिय सभा सांसद निर्वाचित भएकी थिइन्। यसबीचमा उनले केही समय प्रमुख सचेतकको जिम्मेवारीसमेत लिएकी थिइन्। उनले विगतमा कृषि विकास राज्यमन्त्री भएर पनि काम गरेकी थिइन्। उनी २०७० मा संविधान सभा सदस्यसमेत भएकी थिइन्। प्रसाईं नेविसंघ, महिला संघ हुँदै पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय छिन्।

२६. प्रतिमा गौतम

काठमाडौंकी प्रतिमा गौतम कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी १४ औं महाधिवेशनमा नेता शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्य बनेकी थिइन्। गौतम काठमाडौं २ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन् तर यो क्षेत्र नेकपा माओवादीले पायो र ओनसरी घर्तीमगर सत्ता गठबन्धनबाट साझा उम्मेदवार भएर पराजित भइन्।

प्रतिमा २०७४ सालमा पनि काठमाडौं २ मा चुनाव लडेकी थिइन्। त्यसबेला तत्कालीन एमाले नेता माधवकुमार नेपालले चुनाव जितेका थिए। यसपालि माओवादीलाई काठमाडौं २ छाड्नुपर्दा कांग्रेसले प्रतिमालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो। प्रतिमा नेविसंघ पूर्वमहामन्त्री पनि हुन्।

२७. मैना रावल कार्की

मैना रावल कार्की जाजरकोटकी हुन्। उनी १४ औं महाधिवेशनमा कांग्रेस जाजरकोटबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएकी थिइन्। मैना नेता शेखर कोइराला पक्षकी हुन्।

२८. लीलादेवी बोखिम लिम्बू

ताप्लेजुङकी लीलादेवी बोखिम लिम्बूलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। उनी कांग्रेसको १३ औं महाधिवेशनमा ताप्लेजुङ सभापति निर्वाचित भएकी थिइन्। उनले लामो समय जिल्लामा रहेर नेपाल महिला संघमा काम गरेकी थिइन्। उनी विगतमा गैरसरकारी संस्थाहरूमा पनि काम गरेकी थिइन्। उनी कांग्रेसमा संस्थापनइतर समूहमा छिन्।

२९. सपना राजभण्डारी

काठमाडौंकी सपना राजभण्डारीलाई कांग्रेसले प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको छ। उनी कांग्रेसका स्व. नेता नवीन्द्रराज जोशीकी श्रीमती हुन्। उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ बाट महासमिति सदस्य पनि हुन्। राजभण्डारी संस्थापनइतर समूहकी हुन्। उनी पहिलेदेखि नै कांग्रेसको राजनीतिमा थिइन्। नवीन्द्रराजको निधनपछि उनी सक्रिय रूपमा पार्टीमा लागेकी थिइन्।

३०. कुसुम थापा मगर

पर्वतकी कुसुम थापा मगरलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। उनी नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएकी थिइन्। कुसुम संस्थापनइतर समूहकी हुन्। उनी १२ औं महाधिवेशनदेखि नै कांग्रेस महाधिवेशन प्रतिनिधि छिन्।

३१. सीता मिजार

नुवाकोटकी सीता मिजारलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। उनलाई नुवाकोट कांग्रेसले क्षेत्र नम्बर १ बाट समानुपातिक सांसद सिफारिस गरेर केन्द्रमा पठाएको थियो। उनी नेविसंघबाट पार्टी राजनीतिमा आएकी हुन्। सीता संस्थापनइतर समूहकी हुन्।

३२. मुक्ताकुमारी यादव

धनुषाकी मुक्ताकुमारी यादव कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। मधेशी महिलातर्फ केन्द्रीय सदस्य बनेकी उनले कांग्रेस महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएकी थिइन्। उनलाई कांग्रेसले यसपालि प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसद बनाएको छ।

उनी २०७४ मा मधेश प्रदेशबाट राष्ट्रिय सभा सांसद भएकी थिइन्। २०५३ सालदेखि उनी कांग्रेस राजनीतिमा लागेकी थिइन्। त्यसअघि उनी शिक्षक थिइन्। उनी दोस्रो संविधान सभामा सांसद भएकी थिइन्। उनी संस्थापनइतर समूहकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *