
काठमाण्डौ, २५ मंसिर – चिनियाँहरुले पछिल्लो समय नेपाललाई अपराधको थलो बनाएका छन् । विभिन्न आवरणमा नेपालमा आउने र नेपाली भूमि प्रयोग गरेर प्रविधिमार्फत ठगी र ब्ल्याकमेलसहित अपराध गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । अनुसन्धान भएपछि नेपाली प्रहरी प्रशासनले राजनीतिक तथा नेतृत्व तहको संरक्षणका कारण चिनियाँ अपराधीलाई कारवाही गर्न सकेको छैन । चिनियाँ अपराधमा खासगरी माओवादी केन्द्रका नेताहरुबाट संरक्षण भएको घटनाक्रमले देखाएको छ । उपमहासचिव वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, उपराष्ट्रपति नन्दबहादुर पुन, उनका पुत्र दिपेश पुन, पूवृगृहमन्त्री रामबहादुर थापा बादल, उनका पुत्र प्रतीक थापा चिनियाँ अपराधका नाइकेसँग प्रत्यक्ष जोडिएको प्रहरीको अनुसन्धानले देखाएको हो ।
चिनियाँ अपराधका केही घटनामा कारवाही नहुनुले यसमा राजनीतिक र उच्च प्रशासनिक संरक्षण रहेको प्रष्ट देखिन्छ । गत साउनमा प्रहरीले सिनामंगलस्थित कल सेन्टर सञ्चालन भइरहेको स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मार्दा चिनियाँहरुले लोन एपमार्फत ऋणको जालोमा पारेर वित्तीय अपराधमा संलग्न भएको पोल खुल्यो । पाँच चिनियाँ र दुई भारतीय पक्राउ परे । तर ठोस कारवाही भएन । अवैध रुपमा नेपाली भूमि प्रयोग गरेर असुली गरी वित्तीय अपराध गरेको पाइएपछि प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ब्लू स्काई बिजनेश सोलुसन प्रालिमा पनि छापा मारेर तीन जना पक्राउ गर्दा यही अपराधको पर्दाफास भयो । चिनियाँहरुले एपमार्फत ऋण दिएर ग्राहकलाई विश्वासमा लिने र सबै विवरण लिएर ब्ल्याकमेल गरेर अवैध असुली गर्ने गरेको प्रहरी अनुसन्धानमा खुल्यो । सीआईबीका एक अधिकारीकाअनुसार ग्राहकको विवरणको दुरुपयोग गरी लाखौ रुपैयाँ असुल्ने काम चिनियाँले गरेका थिए ।
प्रहरीले चिनियाँ अपराध पकडेको २०७६ पुसमै हो । १२२ चिनियाँलाई अनलाइन जुवा, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा काठमाडौंमा पक्राउ गरे पनि राजनीतिक दबाबमा अनुसन्धान भएन । उनीहरुलाई चीनको जिम्मा लगाइयो । मुख्य योजनाकारलाई राजनीतिक संरक्षणमा उन्मुक्ति दिइयो ।
नेपालमा पछिल्लो समय चिनियाँ संलग्नतामा भइरहेका अपराधमा माओवादी नेतृ अमला रोक प्रमुख मतियारका रुपमा देखिएकी छन् । नेपालमा चिनियाँ अपराधबारे लामो समयदेखि अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीकाअनुसार द्वन्द्वकालमा श्रीमान वितेपछि अमलाले चिनियाँ मूलका दावा छिरिङसँग विहे गरेकी थिइन् । नेपाललाई चिनियाँ अपराधको थलो बनाउने मुख्य नाइके दावासँग माओवादी नेतृ अमलाको विहेले राजनीतिकरुपमा संरक्षण मिलेको निष्कर्ष अनुसन्धानकर्ताको छ । अमलामार्फत दावाले माओवादी उपमहासचिव वर्षमान पुन, ओनसरी घर्ती, उपराराष्ट्रपति पुन तथा अन्य राजनीतिक नेतृत्वसँग पहुँच बनाएको देखिएको छ । दावाको गिरोहमा मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरु लिन फेङचेङ र लिन लोङयुआन पनि छन् । उनीहरुले बुढानिलकण्ठमा रोयल स्यान्ड्स होटल सञ्चालन गरेर अवैध अखडा बनाएको १२२ चिनियाँ पक्राउ पर्दा खुलेको थियो । गत वैशाखमा महाराजगञ्जको एक घरबाट २२ चिनियाँलाई पक्राउ गर्दा पनि राजनीतिक पहुँचमा तत्कालै छोडिएको थियो । उनीहरुलाई छुटाउन उपराष्ट्रपति कार्यालयले नै दबाब दिएको अनुसन्धानमा संलग्न अधिकारीले खोलेका थिए ।
वर्षमानको परिवारसँग अमलासँगै दावाले पनि विशेष सम्बन्ध बनाएका छन् । स्वयं वर्षमानले अमलालाई बहिनी र दावालाई ज्वाइ भन्ने गरेका छन् । सम्बन्धकै कारण विभिन्न आवरणमा चिनियाँ भित्र्याउन वर्षमानले कानुनको धज्जी उडाउँदै आफ्नो शक्ति सहजै प्रयोग गरेका छन् । अमला र दावाले विभिन्न परियोजनाका नाममा चिनियाँ अपराधीहरु भेटाउने र नेपाललाई चिनियाँ अपराधको थलो बनाउन प्रयोग गरिरहेको बताउँछन् सीआईबीका एक अनुसन्धानकर्ता । माओवादीकै प्रभावशाली नेतृत्वबाट अदृश्यरुपमा चिनियाँ अपराधलाई संरक्षण हुँदा प्रहरी प्रशासनले कारवाही अगाडि बढाउन नसकेको सीआईबीका ती अनुसन्धानकर्ताको गुनासो छ । राजनीतिक संरक्षणमा चिनियाँ अपराध मौलाउँदा यसले भविष्यमा भयावह अवस्था ल्याउने उनको चिन्ता छ ।
अहिले वर्षमान उपचारका लागि चीन गएका छन् । उनको उपचार खर्च पनि दावाले नै व्यहोर्ने, चिनियाँ नेताहरुसँग हिमचिम बढाउन मध्यस्तताको भूमिका खेल्ने काम पनि दावाले गर्ने गरेको प्रहरीको आशंका छ । बारा लिंक
