Tuesday, April 28सत्यम खबर
Shadow

नेपालको नयाँ सरकारमा चीनको चाँसोः ओलीलाई राष्ट्रपति बनाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्लान

काठमाण्डौ, १३ मंसिर – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणामले कुनै दलले प्रष्ट जनादेश प्राप्त गर्न सकेको छैन । अर्थात जनादेश अनुसार आगामी सरकार दलहरुले गठबन्धन बनाएर मात्र गठन हुने अवस्था छ । प्रत्यक्षतर्फ काँग्रेसले ५१ स्थानमा जितेको छ भने ३९ स्थानमा प्रत्यक्ष निर्वाचित भएको नेकपा एमाले समानुपातिक तर्फ पहिलो पार्टी बनेको छ ।

ठूलो हैसियतसहितको जनादेश पाएको दुवै दल गठबन्धन सरकार बनाउने गृहकार्यमा जुटिसकेको छ । नेपाली काँग्रेस अहिलेकै गठबन्धन सरकारले निरन्तरता पाउने विश्वासमा छ । उता नेकपा एमाले अहिलेको गठबन्धन फुटाएर वाम गठबन्धन बनाउने दाउमा रहेकाे देखिएकाे छ । चीनकाे दबाबमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कहिले कुरा नगर्ने भनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यसबारेमा विचार गर्न अनौपचारिक प्रस्ताव समेत राखेका खुलासा भएकाे छ । माओवादी अध्यक्ष दाहाल पनि प्राप्त मत परिणामबाट सन्तुष्ट नभएको उनको पछिल्लो अभिव्यक्तिरुबाट प्रष्ट हुन्छ । शुक्रवार गोरखामा निर्वाचित प्रमाणपत्र ग्रहण गर्दै उनले मतपरिणाम अपेक्षाकृत नआएकोले गठबन्धनभित्र गम्भीर समीक्षा गरिने बताएका थिए । यद्यपि उनले आगामी सरकारबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् । प्रचण्ड माथि चीनकाे दबाब लगातार बनिरहेकाे बुझिएकाे छ ।

जनादेशले माओवादी तेस्रो दल भए पनि सरकार गठनमा भने दाहाल निर्णायक भूमिकामा छन् । नेकपा एकीकृत समाजवादी पुषभित्रै एमालेमा विलय हुने यसअघिको भद्र सहमति कार्यान्वयन भए माओवादी थप बलियो हुनेछ । 

राजनीतिक विश्लेषकहरुका अनुसार एमाले अध्यक्ष ओली वामपन्थी सरकार बनाउने कसरतमा हुनेछ । शुरुवाती सरकार नेतृत्व गर्दा राष्ट्रपतिदेखि सभामुखसम्म तजविज हुने भएकोले पनि जुनसुकै मूल्यमा वामपन्थी सरकार बनाउन ओली तयार हुने अनुमान गरिएको छ । तर यसका लागि उनले माओवादी अध्यक्ष दाहाललाई विश्वासमा लिनुपर्ने हुन्छ । तर भर्खरै एउटा गठबन्धनसँग मिलेर चुनाव लडेको माओवादीलाई सरकार गठन गर्न एमालेसँग मिलिहाल्न नैतिक दबाबले रोक्छ । तर दाहालको लागि नैतिकतालाई गौण मानेर एमालेसँग मिल्नु राजनीतिक रुपमा फाइदाजनक हुन्छ ।’ 

चुनावी परिणामले एमाले र अध्यक्ष ओली समेत साइजमा आइसकेकोले विगतको तितोपनलाई विर्सेर जानु दाहालका लागि फाइदाजनक हुनेछ । अहिलेको अवस्थामा प्रचण्डका हरेक शर्त ओलीका लागि स्वीकार्य हुनसक्छ । अहिलेको अवस्थामा वामपन्थी शक्तिहरु पुनः एक हुनुलाई जनादेशको म्यान्डेट हो भन्ने अर्थ लाग्ने भएकोले स्वभाविक समेत देखिन्छ ।’

चीनले चाहेकाे जस्तै साँच्चिकै वामपन्थी गठबन्धनको सरकार बन्न ओली, दाहाल र माधव नेपालले आफूहरुबीच कम्फोर्ट फिल गर्नुपर्छ । यसका लागि ओलीले आफूलाई राष्ट्रपतिमा चित्त बुझाएर प्रधानमन्त्रीको साँचो प्रचण्डलाई सुम्पनसक्ने विश्लेषकहरुको अनुमान छ । यस्तो बेला पार्टी अध्यक्ष माधवकुमार नेपाल भयो भने कुनै आश्चर्य हुने छैन । किनभने त्यो विनविनको अवस्था हुनेछ । एमालेको वाग्डोर जुनसुकै मूल्यमा माओवादीको हातमा नसुम्पने ओलीको अडानको पनि सम्मान हुनेछ । कार्यकारी भूमिकामा आउने प्रचण्डको लालसा र पार्टीमा ओलीको दबदबा मुक्त भएपछि माधव नेपालको पनि इगोको जित हुनेछ । सबैभन्दा ठूलो कुरा फेरि वामपन्थी शक्तिहरु एकीकृत हुँदा नेपाली राजनीतिमा अहिले देखिएको विचलनको पनि अन्त्य हुने विश्लेषकहरु बताउँछन् । काँग्रेसलाई पनि बलियो वाम शक्तिसँग मुकाबिला गर्नसक्ने पार्टी बन्न सुधारको बाटोमा जान बाध्य बनाउनेछ । 

यता वामपन्थी सरकार बनाउन सोचेजति सहज भने छैन । किनभने यसपटक चीनकाे दबाब ठूलै पर्ने अनुमान छ । यसमा चीनले कम्फोर्ट हुने सरकार बनाउन माहाेल बनाउने बुझिएकाे छ ।

यता चीनले पनि वामपन्थी सरकार बनाएर नेपालमा हुकुमत गर्न ओलीलाई राष्ट्रपति बनाएर प्रचण्डलाइ प्रधानमन्त्री बनाउने तयारी थालेकाे छ । चीनले माधव नेपाललाइ नेकपा एमालेकाे अध्यक्ष बनाएर तिनै नेतालाइ एकसाथ ल्याउने कसरत थालेकाे श्राेतले दाबी गरेकाे छ । TDL Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *