
नेपालगन्ज, २३ कार्तिक – जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन् ।
यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गरेका थिए । बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजनाहरू समेटेका छन् ।
विभिन्न दश बुँदामा समेटिएका उनको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन् ।
पत्रकारहरूसँगको साक्षात्कारमा उनले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताए ।
‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं’ उनले भने ‘काम गरिरहेको र गर्न सक्ने व्यक्तिलाई भोट दिनुस् भनेका छौं ।’ मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उनले बताए ।
‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनुभएको छ । उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइ रहनु भएको छ । कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन् । मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस् म सजया भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु ।’
