Sunday, May 31सत्यम खबर
Shadow

कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २० कार्तिक – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।”

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।” राजनीतिक जीवनको सुरुआतबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उहाँले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने बताउनुभयो ।

बिहीबारदेखि गृहजिल्लामा रहनुभएका देउवाले आज दुई चुनावीसभालाई सम्बोधन गर्नुभयो । जिल्लाको अजयमेरुको भद्रपुर र भागेश्वरको रुपालको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उहाँले आफू सुदूरपश्चिमको स्थायीवासी भएकाले पनि यहाँको भूमि, विकास निर्माण, आर्थिक समृद्धिका बारेमा आफूलाई बढी चिन्ता हुने दाबी गर्नुभयो । प्रधानमन्त्री देउवाले डडेल्धुरासहित सुदूरपश्चिमको सम्पूर्ण विकासका लागि आफू निरन्तर लागिपरेको उल्लेख गर्दै भौतिक र सामाजिक विकास अगाडि बढेको र अब आर्थिक समृद्धिका लागि पहल भइरहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *