Thursday, April 23सत्यम खबर
Shadow

हामीले कसैलाई गाली गरेर भोट मागेका छैनौं, मात्रै विकासका कुरा गरेका छौं : राई

नेपालगन्ज, १५ कार्तिक – जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब मतदाताले आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्ने दिन नजिकिइरहेको भन्दै सही ठाउँ र सही उम्मेदवारलाई छान्न अपिल गरेका छन्।

चुनावी क्षेत्र अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरका वडाहरूमा मंगलबार बिहानैदेखि सुरू भएको चुनावी घरदैलो क्रममा मतदाताहरूलाई भेटेर उनले यस्तो अपिल गरेका हुन्। जनता समाजवादी पार्टीले केही दिन अघि मात्रै निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७ वटै वडाहरूमा एकैपटक घरदैलो अभियान सुरु गरेका थियो।

सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साहजनकरूपमा भइरहेको जसपाले जनाएको छ।
मतदाताहरू फेरि पनि एकपटक ‘विकास‘ रोज्न आतुर भएको भन्दै उम्मेदवार राईले अरूले जसपाविरूद्ध फैलाइरहेको भ्रम र झुटा कुरामा नअल्झिन पनि आग्रह गरे।

‘हामीले कसैलाई पनि आरोप प्रत्यारोप गरिरहेका छैनौं। आफूले गरेका कामहरू र फेरि गर्नुपर्ने विकासका कामहरू जनतालाई बुझाइरहेका छौं’ उनले भने ‘हामीले हाम्रा राम्रा कामहरूलाई फेरि एकपटक जनताबाट अनुमोदन गराउन चाहन्छौं र समग्र बाँकेको विकासका लागि अझै वृहत योजनाहरू ल्याउन चाहन्छौं।’

जनताका लागि गर्नुपर्ने काम र विकासका अजेण्डाहरूमा बहस गर्न नसकेर धर्म र साम्प्रदायिक कुरा गरेर अरू उम्मेदवारहरूले मतदाता भड्काउने काम गरिरहेको भन्दै त्यसको परिणाम भोग्नुपर्ने दिन नजिकिइरहेको पनि उनले चेताए।

‘अरू पनि पार्टीका धेरै नेताहरू सरकारमा रहे। यहाँका स्थानीय सरकारमा पनि रहे। सांसद भए र प्रधानमन्त्री समेत यही जिल्लाबाट भए’ उनले भने ‘तर म केही पटक सांसद र मन्त्री हुँदा कति काम भयो र त्यसअघि के के कामहरू भए भन्ने कुरा त जनतामाझ छर्लङ्गै छ। त्यसैले हामी विकासका काममा प्रतिष्पर्धा गरौं भनिरहेका छौं। तर अरूहरू विकास र जनताका मुद्दा छोडेर मतदाता भड्काउनमात्रै लागेका छन्।’

उनले यस्ता भ्रम र झुटा प्रचार गर्नेहरूलाई आम मतदाताले सवक सिकाउने दिन आइरहेको भन्दै त्यसपछिको परिणाम नै उनीहरूलाई सजाय हुने पनि बताए। मंगलबार नेपालगन्जका उपमहानगरका वडा नं ९, १३, १० र १२मा बिहानैदेखि घरदैलो सुरू भएको थियो।

त्यसक्रममा बाँके क्षेत्र नं २का प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राई तथा प्रदेशसभाका उम्मेदवार आदेश अग्रवाललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर मत मागेका थिए। घरदैलोका क्रममा विभिन्न पार्टी परित्याग गरेर जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरूलाई उम्मेदवार राईले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *