
नेपालगन्ज, ५ कार्तिक – विकसित देश हुन अथवा हाम्रो जस्तो विकासन्मुख देश, रिक्सा, मोटर साइकल, अटो जस्ता सवारी साधनहरु मध्यम वर्ग तथा निम्न वर्गका मानिसहरुले आफ्नो सहज रुपमा प्रयोग गरेको पाइन्छ ।
यसरी कृषक तथा मध्यम स्तरका मानिसहरुको सहज साधनको रुपमा प्रयोग हुन आउने रिक्सा, मोटर साइकल तथा अटो जस्ता साधनहरु माथि सरकारले वर्षेनी लगाउँदै आएको करलाई ‘वन टाइम पे’ बनाउने आफ्नो लक्ष्य रहेको बाँके क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले बताएका छन् ।
अहिले नेपालमा मोटर साइकलमा मात्रै १ सय २५ सिसिलाई २५००, १२६ सिसिदेखि २५० सम्मलाई ४५००, २५१ देखि ४०० सिसि सम्मलाई ९५०० र ४०१ सिसि र सो भन्दा माथि लाई २०००० रुपैयाका दरले वार्षिक रिन्यु कर बुझाउनु पर्ने स्थिति रहेको छ ।
यसैगरी कृषकहरुले प्रयोगमा ल्याउने ट्रयाक्टर लगायतका साधनहरुमा समेत चर्को मुल्यमा कर बुझाउँदा कृषकहरु मारमा परेको भन्दै स्वतन्त्र उम्मेदवार शर्मा खनालले कृषक तथा मध्यम आय भएकाहरुबाट यस्तो कर उठाउनु भन्दा पनि सरकारले सहुलियत दिनु पर्ने बताए ।
अर्ना चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका खनालले भने, ‘एक त कृषक तथा मध्यम आय भएकाले आफ्नो बचतबाट मोटर साइकल लगायतका साधानहरु आवश्यक परेर लाखौं रकम खर्च गरेर किन्छन, त्यस माथि वर्षैपिछे सरकारलाई कर बुझाउँदा निकै समस्या परेको मलाई जानकारी भएको बताए ।’
स्वतन्त्र उम्मेदवार खनालले थप स्पष्टमा भने, ‘मैले मोटर साइकल लगायतका साधनहरु एक पटक सरकारलाई कर तिरे पछि वर्षोैसम्म पटक–पटक तिर्नु पर्ने झन्झटलाई समाप्त पार्छु ।’
