
नेपालगन्ज, ७ असोज – नेपालगन्जका उद्योगी, व्यवसायीहरुले आज शुक्रबार नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित उद्योगी, व्यवसायीहरु नेपाल राष्ट्र बैंकलाई नीतिगत सुधार गर्न दबावमूलक उद्देश्यका साथ धर्ना दिएका छन् ।

शुक्रबार बिहान १० बजेदेखि करीब एक घण्टा धर्ना बसेका क्रममा व्यवसायीहरुले बैंकको चर्को व्याजका कारण व्यवसायीले तिर्न नसक्ने अवस्था आएको, कोरोनाका कारण धराशयी व्यवसायीले लिएको ऋणमा ब्याजदर मनपरी रुपमा बैंकहरुले बढाइरहेको भन्दै नियमन गर्न राष्ट्र बैंकसँग माग गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना”ले बैंकहरुको चर्को ब्याजदर बृद्धिले कारोबार धराशयी भईरहँदा राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिले बजार, व्यवसाय पूर्ण रुपमा ठप्प हुने दाबी गरेका थिए । कार्यक्रममा बोल्ने व्यवसायीहरुले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगिसकेको भन्दै यस्तै अवस्था रहे व्यवसाय धान्न नसक्ने बताएका थिए ।

धर्ना कार्यक्रममा सहभागी व्यवसायीहरुले विभिन्न नारा समेत लगाएका थिए भने खुला सीमानाकाबाट हुने व्यवसायीलाई रोक्न भोलि शनिबार बिहान ८ बजे रुपईडिया सीमानाकामा कार्यक्रम रहेको जनाएका छन् ।

