Friday, April 17सत्यम खबर
Shadow

चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन

काठमाण्डौ, ३ असोज – फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पा याकचौंरी व्यवसाय गर्थे । साना किनेर बयस्क बनाउदै भारी बोकाउने र बेच्ने व्यवसाय राम्रै चलिरहेको थियो । एउटै याकको मूल्य ८० हजारदेखि एक लाखसम्म पुग्दा उनी व्यवसायमा मस्त थिए । तर, कोरोना संक्रमण लगत्तै बन्द भएको चिनियाँ नाका अहिलेसम्म नखुल्दा उनको व्यवसाय चौपट भएको छ । याकलाई खुवाउने नुनसमेत ल्याउन नपाउँदा उनलाई झनै समस्या भएको छ ।

गलैंचा बुनेर बिक्री गर्ने यहाँकी याङगी शेर्पाका पनि हात सुस्ताउन थालेका छन् । दिनहुँ तानमा बसेर ओलाङचुङगोला, ताप्लेजुङ, तिब्बत जस्ता नाम लेखेर एकरङ्गे र बहुरंगी बुन्ने उनलाई गलैंचाको खातले अत्याइरहन्छ । सादा, भगवान् बुद्धको तस्बिर, विभिन्न जनावरका चित्र अंकित गलैंचा कोठामा थन्किएका छन् । घरको तलामा एकमाथि अर्को बेरेर राखेका गलैंचा मुसाले काट्ने र चिसोले बिग्रिने डर भइरहन्छ । उनी तानमा बस्नुपर्ने समयमा कहिलेकाहिँ ओल्टाई पल्टाइ गर्ने, टकटक्याउने गरिरन्छिन् ।

टिप्ताला भञ्ज्याङ नाका बन्द हुँदा पशुपालन गर्ने नुपु र गलैचा बुन्ने याङगी मात्रै नभएर यहाका हरेक नागरिक समस्यामा छन् । यसै वडा अध्यक्ष छेतेन शेर्पा लामा चरनभरि चौंरी, याक, घरभरी गलैंचा भएको बताउँछन् । यसबाहेक तीन वर्षदेखि यहा जडिबुटी संकलन हुन पाएको छैन ।

आलुबाहेक एक दाना पनि अन्नबाली उत्पादन नहुने ओलाङचुङगोला र याङमावासीको मुख्य पेसा भनेकै जडिबुटी, पशुपालन र गलैंचा बुनाइ हो । ‘खर्कभरी चौंरी र घरभरि गलैंचा देख्दा आनन्द त आउँदो रहेछ,’ लामाले थपे, ‘तर आउने जाने क्रम चलेन भने त एकैपटक भान्सामै असर पुग्ने रहेछ ।’ गोठालाका दुःख र गलैंचा बुन्नेका पीडा सुन्दा सोच्न बाध्य हुने बताउँछन् । छेतेनका अनुसार गोलाको बस्तीमा मात्रै एक हजार बढी गलैंचा थुप्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *