
वीरगञ्ज, २८ भाद्र –भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगन्जका उद्योगी व्यवसायीले विरोध गरेका छन् ।
भारतीय खाद्य मन्त्रालयको सिफारिसमा त्यहाको अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले शुक्रबार देखि लागु हुने गरि धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो । यस्तै भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ ।यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा भन्सार कर लाग्दैनथ्यो ।
पश्चिम बंगाल, उत्तर प्रदेश सहित केही राज्यमा वर्षाको कमीका कारण यो बर्ष भारतमा धानको उत्पादनमा निक्कै कमी आएको भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गर्नुका साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वमा धान उत्पादनमा भारत ,चीन पछिको दोस्रो ठूलो मुलुक हो ।

भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरु बन्द नै हुने अवस्थामा पुग्ने भन्दै नीजी क्षेत्रले विरोध जनाएको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर भारत सरकारको यो निर्णय फिर्ता गराउनका लागि पहल गर्न नेपाल सरकारसंग माग पनि गरेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले भारत सरकारको पछिल्लो निर्णयले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने मात्र नभइ नेपालका खाद्यान्न उद्योगहरु धराशायी नै हुने बताए ।
उनले भारतको यो निर्णयले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने , तस्करी झन मौलाउने र यसले नेपाल सरकारको राजश्व संकलनमा पनि कमी आउने बताए ।
नेपाल चामल , तेल तथा दाल उत्पादक संघका केन्द्रिय अध्यक्ष समेत रहेका गुप्ताका अनुसार , देशभर साना ठूला गरि करिब २ हजार ५ सय चामल उद्योग छन् । ती मध्ये बारा पर्सा औद्योगिक करीडोरमा मात्रै झण्डै ७ सय भन्दा बढि चामल उद्योग छन् । यी उद्योगले स्वदेशी उत्पादनले नपुगेर भारतबाट धान आयात गर्दै आइरहेका छन् ।
अहिले भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाएपछि यसले यहाका चामल उद्योगहरुमा ताला लगाएर बन्द नै गर्नु पर्ने अवस्था आएको अध्यक्ष गुप्ताले बताए । गुप्ताले भने ,‘ यसै पनि नेपाल सरकारको गलत नीतिले यहाका ५० प्रतिशत चामल उद्योग बन्द छन् , अहिले सन्चालनमा रहेका उद्योग पनि ५० प्रतिशतको क्षमतामा मात्रै चलिरहेका छन् , झन भारतले २० प्रतिशत कर लगाइदिएपछि अहिले चलेका उद्योगहरु नि बन्द नै गर्नु पर्ने अवस्था आएको छ ।
उनका अनुसार , नेपालमा वार्षिक चामलको कुल खपत १८ लाख मेट्रिक टन छ । त्यो मध्ये १० लाख मेट्रिक टन मात्रै यहाका उद्योगले उत्पादन गर्छन् । बाँकी ८ लाख मेट्रिक टन चामल भारतबाट आयात हुने गरेको छ । यस्तै धान पनि स्वदेशको उत्पादनले नपुगेर भारतबाट वार्षिक करिब १७ लाख मेट्रिक टन आयात हुने गरेको छ ।
अर्थ मन्त्रालयको भन्सार विभागको तथ्याङक अनुसार , गत आर्थिक वर्ष २०७८÷०७९ मा भारतबाट नेपालमा ५ लाख मेट्रिक टन धान , ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो । उक्त तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै कुल ४७ अर्ब ३५ करोड रुपैयाँ मुल्यको धान र चामल आयात भएको हो ।
यस्तै भारत सरकारले शुक्रबार देखि लागु हुने गरि कनिकाको निर्यातमा प्रतिबन्ध नै लगाउने निर्णय पनि गरेकाले यो निर्णयले यहाका बियर, ह्वीस्की लगायतका मदिरा र पशु दाना उत्पादन गर्ने उद्योगहरु पनि बन्द हुने अवस्थामा पुग्ने गुप्ताले बताए । कनिकाको प्रयोग बियर , ह्वस्की र पशुदाना उत्पादनमा प्रयोग हुने गर्छ ।
गुप्ताले भने ,‘ नेपाल सरकारले भारत सरकारसंग पहल गरेर यो निर्णय सच्याउन लगाउनु पर्छ भन्ने नीजी क्षेत्रको माग छ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष हरि गौतम ,माधव राजपाल, पूर्व अध्यक्ष प्रदीप केडियाका साथै उद्योगी व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
