Wednesday, April 22सत्यम खबर
Shadow

नेपाल र चीनको रसुवागढीबाट सामग्री आयात रोकियो

काठमाण्डौ, २९ सावन –नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामग्री आयात रोकिएको छ। रसुवा भन्सार कार्यालयका अनुसार गत शनिबारदेखि नाकाबाट सामग्री आयात रोकिएको हो।

नाकाबाट सामग्री आयात रोकिएको बारे चिनियाँ पक्षले कुनैपनि औपचारिक जानकारी नदिएको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए। ‘शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ।’ नाका बन्द भएपछि व्यापारी सम्पर्कमा नआएको उनले बताए। ‘पछिल्लो समय आयात पनि घटेको थियो’, उनले भने, ‘अहिले केरुङतर्फ केके सामग्री रोकिएका छन् भन्ने जानकारी आएको छैन।

चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा कोरोना देखिएकाले त्यहाँ लकडाउन भएको अनौपचारिक जानकारी आएको उनले बताए। कोभिड-१९ सुरु भएयता रसुवागढी नाका वान वे सञ्चालन हुँदै आएको छ।

नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हु्ँदै आएको थियो। केही समय पहिले नाकाबाट सामग्री आयात बढाउनका लागि दुवै देशका स्थानीय प्रशासन सहमत भएका थिए।

तर, चीनमा पुनः कोरोना बढ्न थालेपछि नाकाबाट सामग्री आयात रोकिएको हो। कोरोनाप्रति चिनियाँहरू निकै सचेत छन्। कोरोना सुरु हुनुअघि नेपाली व्यापारी सामान लिनका लागि चीनको केरुङसम्म जान पाउँथे। कोरोना सुरु भएपछि चिनियाँले सामग्री नेपालसम्म नै ल्याउन थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *