
काठमाण्डौ, १९ साउन –भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन्।
रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्रमणमा छन्।
‘भदौ तेस्रो साता भारतीय प्रधानसेनापतिको भ्रमणका लागि तयारी अघि बढेको छ। भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्छ’ रक्षा मन्त्रालयका एक अधिकारीले भने। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन्।

यसअघि साउन महिना भित्रै उनी नेपाल आउने संकेत भारतीय पक्षले दिएको थियो। तर दुई साता अघि भारतीय सेनाले प्रधानसेनापति पाण्डे भदौ तेस्रो साता मात्रै आउने जानकारी कूटनीतिक च्यानलबाट गराएको हो।
भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन्। नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नेछिन्।
नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ।
नेपालका प्रधानसेनापति गतवर्ष कात्तिकमा तत्कालीन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको निम्तामा भारत भ्रमणमा गएका थिए। उनलाई भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो।
गत महिना नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग गरेको भेटवार्तामा पाण्डेको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। भेटमा पाण्डेले नेपाल भ्रमणमा जान प्रतीक्षारत रहेको बताएका थिए।
राजदूत शर्मा र भारतीय प्रधानसेनापतिबीच पहिलोपटक भेटवार्ता भएको हो। पाण्डे अप्रिल १८ मा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए।
नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको छ। प्रधानसेनापति शर्मा र भारतीय समकक्षी पाण्डेबीच गत वैशाखमा भिडिओ कन्फ्रेन्समार्फत कुराकानी भएको थियो । त्यस क्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
