Saturday, April 18सत्यम खबर
Shadow

मनसुन आयो मल आएन , मलमा भारतकै सहारा

काठमाण्डौ, २६ असार –मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर एक सातादेखि रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई डेढ बिघा खेतका लागि डिएपी, युरिया र पोटास मल चाहिएको छ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट ‘मल किसानलाई होइन, डिलरलाई दिन्छौं’ भन्ने जबाफ पाएपछि उनी डिलरकहाँ धाइरहेका छन्। ‘धान रोप्ने समय घर्किंदै गएको छ,’ उनले भने, ‘मलका लागि डिलरहरू धाउँदैछु। कृषि सामग्री र साल्ट ट्रेडिङले डिलर (कृषि सहकारी) लाई मल दिने बताउँछन्। सहकारीमा जाँदा मल छैन भनेर फर्काउँछन्।’

धनुषाको गणेशमान चारनाथ नगरपालिका नवटोलीका भगत महतोले पनि मलका लागि गाउँदेखि जनकपुरधामसम्म धाउन थालेको साता नाघ्यो। तर उनले मल पाएका छैनन्। सप्तरी मधुपट्टीका किसान राजदेव यादवले बिनामल धान रोपिरहेका छन्। साह, महतो र यादव मात्र नभई मधेस प्रदेशका अन्य किसानले कतैबाट मल पाउने छाँट नदेखेपछि स्थानीय सरकारदेखि प्रशासनमा गुहार लगाउँदैछन्। सरकारले तोकेको ठाउँमा धाउँदा पनि मल नपाएपछि किसान आक्रोशित छन्। उनीहरूले एक महिनादेखि खेत जोतेर धान रोप्न तयार पारेका छन्। सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्।

प्रदेश कृषि मन्त्रालयले सबै जिल्लाका स्थानीय तहलाई कोटा निर्धारण गरेर मल वितरण गर्छ। त्यसपछि पालिकाको सिफारिस लिएर सहकारी संस्थामा मल लिन जानुपर्छ। अहिले मधेस प्रदेशका आठवटै जिल्लामा रहेका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा थोरै मात्रामा मल आपूर्ति भएको मधेस प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख सुनिलकुमार सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *