Wednesday, April 22सत्यम खबर
Shadow

‘मानिस असल कर्मले अमर रहने’: मन्त्री हमाल

‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण दिँदै लुम्बिनी प्रदेशका वन भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुुर हमालले संसारलाई बुझ्ने र महसुस गर्ने मानिसको हेराइ र बुझाइमा फरक पर्ने बताए । मानिसले मानिसका लागि मात्र नभई पशुचौपायासमेतको समस्यालाई आफ्नै समस्या सम्झेर अघि बढ्ने उद्देश्यसाथ नेपालगन्जमा स्थापना भएको बीयोर सेल्फका परिकल्पनाकार गौरब शाहको स्मृति दिवसका अवसरमा मन्त्री हमालले आफ्नो भावना व्यक्त गरेका थिए ।


यति मात्र नभई मानिसले सोच्दा वा कर्म गर्दा मन र बुद्धिलाई प्रयोग गर्ने भएकाले बुद्धिले गरिने कार्यमा जोड र घटाउको हिसाब किताब हुन्छ भने मनले सोचेर गरिने कार्य निस्वार्थ रुपमा हुने मन्त्री हमालले बताए । मानिस असल कर्मले अमर रहने बताउँदै मन्त्री हमालले बीयोर सेल्फका परिकल्पनाकार गौरब शाहले बीयोर सेल्फ संस्थाको परिकल्पना गर्नु नै असल कर्म भएको बताए । जुन सोचका साथ यो संस्थालाई गौरबले जन्माए त्यसरी नै यसमा संलग्न सबैले उनको सोचलाई आत्मसात गर्नु पर्नेमा उनले जोड दिए ।


गौरब स्मृति तथा बीयोर सेल्फ फाउण्डेसनको आयोजनामा भएको ‘मेरो देश नेपाल’को लाइफ कन्सर्टका अवसरमा विशिष्ट अतिथि रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुन महान सोचका साथ गौरबले यस संस्थालाई जन्माए त्यही सोचका साथ अगामी दिनमा संस्थालाई अघि बढाउन सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । मेयर विष्टले निस्वार्थ रुपले गरिने सामाजिक एवम् परोपकारी कार्यमा उपमहानगरपालिकाको सदैब साथ र सहयोग रहने बताउँदै असल सोच र कर्ममा धेरै युवालाई जोड्न सफल गौरबप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।


ब्रिनोज कान तथा स्याहार केन्द्रका सिइओ पुरन चौधरीले बीयोर सेल्फ नाम आफैंमा काफी रहेको बताए । उनले जसले देशको हितका लागि सोच्दछ र जो देश निर्माणका पिल्लर हुन् त्यस्ता व्यक्तिलाई एउटै मालामा जोड्ने काम बीयोर सेल्फले गरेको बताए । विभिन्न सामाजिक एवम् परोपकारी कार्य गरिरहेको बीयोर सेल्फ सबैको मार्गदर्शक बन्न संस्थाको उद्देश्यले निरन्तारता पाओस् भन्दै शुभकामना व्यक्त गरे ।
त्यस्तै नेपाल टेड्र युनियन काँग्रेस बाँकेका जिल्ला सचिव तोजेन्द्र बिकले गौरब हामी माझ नरहे पनि उनले समाज परिवर्तनका लागि दिएको योगदान स्रहानीय रहेको बताउँदै यसलाई सबैले अनुशरण गर्न सके कोही पनि समस्यामा नपर्ने बताए ।


यसैगरी नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेशकुमार गुप्ताले कला र सँस्कृतिलाई जर्गेना गर्नका निम्ति यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्नु पर्ने बताए ।
‘सेभ मनी सेभ वन लाइफ’ अर्थात् पैसा बचाएर अरुलाई जीवन दिऔं भन्ने उद्देश्य लिएर ‘बी योर सेल्फ’को सुरुवात गरेका शाहले घरबाट पाउँदै आएको पकेट खर्च बचाएर आवश्यकतामा परेका धेरै व्यक्तिहरुको सहयोग गर्दै आएका थिए । शाहले उद्देश्यविहीन छरिएर रहेका युवालाई समाज सेवामा अग्रसर गराउँदै थोरै थोरै रकम जम्मा गरेर निल सागर वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि खानाको व्यवस्था, बागेश्वरी मन्दिर र बाटोमा भौँतारिएर बसेका व्यक्तिलाई खाना खुवाउने काम गरेका थिए ।

त्यस्तै सडकमा भौँतारिएर हिँड्ने कुकुरलगायतका पशु चौपायालाई दूध र खाना, विपन्न वर्गका परिवारलाई खाद्यान्न सहयोगलगायत लकडाउनका अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको थिए । त्यस्तै महिनावारीका समयमा विद्यालय जानबाट विपन्न वर्गका किशोरीहरु बञ्चित नहुन भन्ने उद्देश्यसाथ स्यानेटरी प्याडलगायत शैक्षिक सामाग्रीको जोहो पकेट खर्च बचाएर नै गरेको जानकारी संस्थापक संरक्षक प्रदीपकुमार शाहले बताए ।


कार्यक्रममा संस्थाको संस्थापक अध्यक्षमा शेखर जोशी, उपाध्यक्ष मधु शाह, सचिव सुदिप सिंहचौधरी, सहसचिव डिनिता शाही, कोषाध्यक्ष विजय कोरी सदस्यमा क्रमश शिवम शाह, मुन्सी हज्जाम, अनिता बस्नेत र रोजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *