Friday, April 24सत्यम खबर
Shadow

स्वास्थ्य तथा शिक्षामा जोड दिँदै वडा नं. ६ को वडाभेला सम्पन्न

सकिल अहमद राई/नैतिक त्रिपाठी
नेपालगन्ज, १३, असार – स्वास्थ्य तथा शिक्षामा पहिलो प्राथमिकता दिई काम अगाडी बढाउने प्रतिबद्धताका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेला आज सोमबार सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेला आज स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा बिहान ८ बजे राखिएको थियो । उक्त भेलामा वडाबासीहरुले आ–आफ्नो टोलको विभिन्न समस्याहरु राख्नुका साथै आउने आर्थिक वर्षमा के–के काम टोलमा गर्ने भनी चिठ लेखी वडा प्रतिनिधिहरुलाई बुझाएका थिए ।


वडाबासी मदनराज शर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ भित्र रहेका सम्पूर्ण मठमन्दिरको संरक्षण सम्बद्र्धन गर्नुका साथै मठमन्दिरको जमिन यकिन गरी नापनाक्स राख्नुका साथै आउने दिनमा पानीको मुहान कम नहोस भनी स्थानीय ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरी कार्य अगाडी बढाउनु पर्ने बताएका थिए ।
यसैगरी वडाबासी मनिषराज रेग्मीले यस वडामा एक मात्र सरकारी विद्यालय भएको त्यसमा समेत आएको बजेटबाट भागबण्डा जस्तो गतिविधि नियन्त्रण गरिनुका साथै शिक्षालाई राजनीतिक पहुचबाट टाढा राखी वडाले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
यसैगरी वडाबासी दिलिपराज रेग्मीले वडाका सम्पूर्ण विकासका गतिविधिमा सबै पार्टीले हातेमालो गरी उपमहानगरमा चिनाउने हिसाबमा काम गर्नुपर्ने बताएका थिए ।
यसैगरी पूर्व वडा सदस्य सुरेशप्रसाद सोनारले वडामा भएको सरसफाई, बिजुलीबत्तीको काममा हाल भईरहेको ढिलोसुस्तीको गुनासो गरिनुका साथै विगत जस्तो पारदर्शिता यसतर्फ नभएको बताएका थिए ।
वडा सदस्य मदनबहादुर क्षेत्रीले वडाबासीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिनुका साथै हाल वडामा सफाईकर्मीको कमी भएको हुँदा त्यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराई सकेको बताए । आउने दिनमा सबै पार्टी तथा वडाबासीहरु जनतालाई मिलेर कसरी वडालाई नमूना बनाउन सकिन्छ त्यसतर्फ कार्य गर्ने बताए ।


वडाअध्यक्ष समिरप्रताप सिंहले समापन गरेका वडाभेलामा सञ्चालन असिष्टेन्ट सब ईन्जिनियर नवराज रोकायले गरेका थिए । वडा भेलामा वडा सचिव मदनबहादुर रावत, सहायक अधिकृत भक्तबहादुर खत्री, सहजकर्ता शिला देवकोटा, का.स. उमेशकुमार बर्मा, का.स. शान्ति कुर्मीलगायतको सहभागिता हुनुका साथै १ सय बढी वडाबासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको लाईफ प्रसारण वडामा रहेको सत्यमखबर डटकमले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *