
नेपालगन्ज, ७ जेष्ठ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् पूर्व मन्त्री मो. इस्तियाक राईले अबको पाँच वर्षलाई नेपालगन्जको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपालगन्जमा गठबन्धनका तर्फबाट नवनिर्वाचित मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईको विजय उत्सबपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले विगतको स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब नवनिर्वाचित मेयर, उपमेयर लगायत सबै जनप्रतिनिधिहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वास व्यक्त गरे । जनताको घरघरमा आधारभूत सेवा पुर्याउने गरी कुनै कसर बाँकी नराखेर काम गर्न उनले आग्रह गरे । 
नेपालगन्जका निवर्तमान मेयर डा. धवलशमशेर राणाप्रति इंगित गर्दै उनले आफूले नेपालगन्जको विकासका लागि ल्याएका योजना फर्काएर नेपालगन्जको विकास अबरुद्ध गरेको बदला जनताले मतमार्फत् प्रकट गरेको जिकिर गरे । उनले सुर्खेतमा भएको गाईकाण्ड र भेन्टिलेटर खरिद गर्न संसद विकास कोषमार्फत् आएको पैसा फर्काइदिएको भन्दै गाई हत्या र भेन्टिलेटर खरिद नगरेर जनताको जीवनमाथि खेलबाड गर्नेलाई माता बागेश्वरीको नगरीमा पाप धुरीबाट कराउँछ भनेझै आक्रोशित जनताले मतमार्फत् विस्थापित गरिदिएको टिप्पणी गरे ।
बाँके क्षेत्र नम्बर २ को सांसद समेत रहेका राईले संघ र प्रदेशमा गठबन्धन कै सरकार भएकाले नेपालगन्जसँग समन्वय गर्दै सबै मिलेर विकास गर्ने बताए । उनले गरिब दुःखीहरुको गुणस्तरीय शिक्षामा पहुँच, भूमीहिनहरुको पुनर्वास र किसानहरुका हकमा एकीकृत सम्पत्ति करको पुनरावलोकन लगायतका विषयहरुमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने सुझाब दिएका छन् ।
कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले गरेका थिए ।
