
नेपालगन्ज, ३० फागुन – होलिल्यान्डले अन्तर स्कुल मेयर तथा उपमेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । महिला तर्फको उपाधि नेपालगन्ज मोडेल एकेडेमीले यसअघि जितिसकेको थियो ।
आइतबार कोहलपुर क्रिकेट मैदानमा होलिल्यान्डले युनाइटेड एकेडेमीलाई ४० रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको होलिल्यान्डले १९.१ ओभरमा १ सय २० रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अनुरोध कुँवरले ३१ रन,तर्सथ गुप्ताले १६ र धन बहादुर थापाले ८ रन जोडे । युनाइटेडका समिर राना मगरले ३ विकेट र अनुराग गुरुङले २ विकेट लिए ।

जवाफमा युनाइटेडले १६.२ ओभरमा ८० रन बनाएर अलआउट भएको थियो । युनाइटेडका मोहम्मद इमरानले १८ र बिकास साहुले १७ रन जोडे । प्लेयर अफ द फाइनल होलिल्यान्डका गोपाल जिसीले सर्वाधिक ४ विकेट, धन बहादुर र हर्सिल जंग शाहीले २–२ विकेट लिएका छन ।
प्रतियोगितामा युनाइटेडका समित रानामगर प्लेयर अफ सिरिज, एबिसिका सुनिल चौहान उत्कृष्ट वलर र युनाइटेडका पियुस प्रजापति उत्कृष्ट ब्याटस म्यानबाट पुरस्कृत भए । महिला तर्फ होलिल्यान्डकी स्वतिका बजगाई वुमन अफ द सिरिज, होलिल्यान्डकी मनिषा रानामगर उत्कृष्ट वलर र नेपालगन्ज मोडेल एकेडेमीकी चमेली चौधरी उत्कृष्ट ब्याटस वुमनबाट पुरस्कृत भइन ।

विजेता महिला तथा पुरुष खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, लुम्बिनी कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा, आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, बाँके जिल्ला क्रिकेट संघका सचिव बिक्रम श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।
