
डुडुवा, १४ फागुन – राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान यस वर्ष पनि शुरु भएको छ । अभियान सफल बनाउनका लागि डुडुवा गाउँपालिकाले आज शनिबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।
कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमन लगायतका बुँदालाई समाबेश गरि विशेष रणनिति निर्माण गरिएको हो । औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निर्माण गरिएको रणनिति अनुसार कार्ययोजनालाई कार्यान्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा यही फागुन २८ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।
एक हप्तासम्म सञ्चालन गरिने अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने छ । यस वर्ष उचाईका आधारमा औषधी खुवाइनेछ । यस वर्ष आइभर मेट्रिन नामक औषधी थपिएको छ ।
ग्रामिण क्षेत्रमा अशिक्षाका कारण अधिकास नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो । यस वर्ष औषधी सेवनका लागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ ।
कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, परशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावति यादव, सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।
