Tuesday, April 21सत्यम खबर
Shadow

संसारका कुनैपनि साम्राज्यबादीको अगाडी माओवादी झुक्दैन : मन्त्री अथक

नेपालगन्ज, १ फागुन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आगामी निर्वाचन मार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताउनु भएको छ । २७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आउनु भएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धी भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागि परेको भन्दै जनताले त्यस्ता तत्वहरुलाई निर्वाचन मार्फत कारबाही गर्ने बताउनुभयो ।

देशमा अहिले पनि गम्भीर प्रतिक्रान्ति र राष्ट्रघातका खतराहरु मडारीरहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “नेपाली जनता त्यो महान जनता हो, जसले सयौं वर्षको राजतन्त्र समाप्त गरेर आफ्नो शासन ब्यवस्था आफैले रोजेको हो, तसर्थ राजनितिका नाममा गरिने तमाम खालका हर्कतहरु चिर्न नेपाली जनता सक्षम छन् ।”

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मन्त्री अथकले महान सहिदहरुको बलिदानबाट प्राप्त ब्यवस्था माथी ब्यवस्था बिरोधी तत्वले हालिमुहमली गरिरहेको बताउनुभयो । गणतन्त्रका बिरोधीहरुले परिवर्तनको नेतृत्व गरेको माओवादी माथी ज्यादती गर्न खोजिरहेकाले जनता जागरुक हुनुपर्ने अवस्था आएको बताउँदै मन्त्री अथकले आफ्नो अधिकार प्राप्तीकालागी गणतन्त्रपक्षधरहरु पुनः एकजुट हुनुपर्ने बताउनुभयो ।

जनयुद्धको बलमा संघियता, धर्मनिरिपेक्षता, समावेशी समानुपातीक प्रतिनिधित्व सहितको गणतन्त्र स्थापित गर्ने माओवादी संसारका कुनै पनि प्रतिक्रियावादीको अगाडी नझुक्ने बताउँदै मन्त्री अथकले राष्ट्रिय हित, स्वाधिनता, प्रतिष्ठा र जनताको सर्वोपरी हितका लागि सदैब लागि पर्ने समेत प्रष्ट पार्नु भयो ।

नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाँउ कमिटिद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री अथकले ७० जना सहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गर्नु भएको थियो । नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिमबहादुर घर्तीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने दुई दर्जन बढीलाई मन्त्री अथकले स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *