
सकिल अहमद राई
जानकी, २८ माघ – बाँकेको जानकी गाउँपालिकामा १५ शैय्याको सुविधा सम्पन्न अस्पतालको आज शुक्रबार विशेष कार्यक्रम सहित शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको छ ।
दुई वर्षमा सम्पन्न गर्ने गरी बोलकबोलमा हिम सगरमाथा र अनक निर्माण सेवाले संयुक्त रुपमा ११ करोड ४४ लाख १ हजार १३२ रुपैयामा सो भवन निर्माणको सम्झौता गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ हालको गाउँपालिका रहेको स्थानमा सो भवन निर्माण गर्न लागिएको हो । हरेक नागरिकलाई सुलभ र निशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकोले यस अस्पताल निर्माण पश्चात यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा पाउने सभासद गौतमको भनाइ रहेको छ ।
जानकी गाउँपालिकामा अधिकांश मधेसी र मुस्लिम समुदायको बसोबास रहेको र उहाँहरुको पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चिताका लागि यो अस्पताल निर्माण गर्न लागिएको कार्यबहाक अध्यक्ष धितालको भनाई रहेकाे छ । हामीले निर्वाचनमा बाचा गरेका सबै विकास निर्माणका काम र पूर्वाधारका कार्यहरु यस आर्थिक वर्षमा पुरा गर्ने छौ उहाँले भन्नुभयाे ।
अस्पताल निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीको अथक पहलबाट सो कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी गराउनु भयो । उहाँले निर्माण कम्पनीले समयमा काम गर्न सहज वातावरण बनाउन आफु र गाउँपालिका परिवार लाग्ने समेत जानकारी गराउनु भयो ।
