Thursday, April 23सत्यम खबर
Shadow

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन महामन्त्रीमा डा. धवल शम्शेर राणा बिजयी

काठमाण्डौ, १९ मंसिर – आज बिहान सकिएको मतगणना अनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो । लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए ।
अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन् । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन् ।


‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन् ।
थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’
यसैगरी, राप्रपाको महामन्त्रीमा निर्वाचित नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले पार्टीको नेतृत्व दोस्रो पुस्तामा आएको भन्दै पार्टी र देश दुबैको लागि नयाँ शुरुवात भएको बताएका छन् ।
निर्वाचित भएपछि आईतबार काठमाण्डौमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीका एजेन्डालाई हासिल गर्ने गरी अघि बढ्ने बताए । उनले हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र स्थापनाका लागि हिन्दुवादी संघसंस्थाहरुलाई एकै थलोमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
काँग्रेस र एमाले बिरुद्ध मोर्चाबन्दी गरेर चुनावबाटै आफ्ना पार्टीका एजेण्डा स्थापित गरिने भन्दै उनले त्यसमा हातेमालो गर्न सबै युवावर्गलाई आव्हान समेत गरेका छन् ।


को हुन् राजेन्द्र लिङ्देन ?
२०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका राजेन्द्र लिङ्देन झापाका स्थायी बासिन्दा हुन् ।
बुवा प्रहरीमा भएकाले उनको बसाइ भने झापा जिल्लामै भएको थियो ।
राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुरू गरेका हुन् ।
राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् । लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापबाट वडाध्यक्ष जितेका थिए ।
२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङ्देन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो र २०७० सालको चुनावमा दोस्रो मत ल्याएर पराजित भए ।
उनी नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले काँग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भएका थिए ।
लिङ्देन २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भए ।
समान्य परिवारमा जन्मेर पञ्चायती राजनीतिहुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीलाई शून्य सिटबाट जोगाएर वाहवाही पाएका थिए ।
मीना श्रेष्ठ, ऋषिराज देवकोटा, फत्तेसिंह थारु र ओमप्रकाश आजाद निर्वाचित भएका छन् । देवकोटा खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने श्रेष्ठ महिला, थारु जनजाती र आजाद मधेशी कोटाबाट निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *