
नेपालगन्ज, १० मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँके क्षेत्र नम्बर २ मा आज शुक्रबार मतदान हुने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठकले उक्त क्षेत्रमा शुक्रबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर २ मा बिहीबारका लागि तय भएको मतदान प्राविधिक कारणले स्थगित गरिएको थियो । क्षेत्र नम्बर १ र ३ मा भने विहिबार नै मतदान सम्पन्न भइसकेको छ ।

क्षेत्र नम्बर १ का मतदान अधिकृत (अधिवक्ता) मेहरसिंह खत्रीका अनुसार उक्त क्षेत्रमा विहिबार बिहान ९ः३० बजेबाट सुरु भएको मतदान बेलुकी ५ः३० बजेसम्म चलेको थियो । कुल ६ सय ५ जना मतदाता रहेको उक्त क्षेत्रमा ६ सय १ मत खसेको छ । उम्मेदवार बीचको सहमतिमा आज शुक्रबार बिहान ८ बजेदेखी कोहलपुरस्थित भेरी सितभण्डारमा मतगणना गरिनेछ ।

यस्तै क्षेत्र नम्बर ३ मा पनि मतदान सम्पन्न भएर मतगणना सुरु भएको मतदान अधिकृत बिरेन्द्र यादवले जानकारी दिनुभयो । उक्त क्षेत्रमा क्षेत्रीय सभापति, क्षेत्रीय कार्यसमिति (समानुपातिक) र महाधिवेशन प्रतिनिधी (समानुपातिक)मा बुधबार नै निर्विरोध भएको थियो ।

मतदान अधिकृत यादवले बिहीबार सचिव, सहसचिव, क्षेत्रीय कार्यसमिति (खुल्ला) र महाधिवेशन प्रतिनिधी (खुल्ला)मा मात्र मतदान भएको बताउनुभयो । उक्त क्षेत्रमा बिहान ११ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । कुल ४ सय ३६ मतदाता मध्ये ४ सय ३५ मत खसेको मतदान अधिकृत यादवले बताउनुभयो ।
प्रतिनिधी सभा क्षेत्रको निर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले नेपालगन्जस्थित समितिको सचिवालयबाट तीन वटै क्षेत्रमा समन्वय गर्नु भएको थियो । यस्तै जिल्ला निर्वाचन परिचालन समितिको दुई वटा छुट्टा–छुट्टै टोली अनगुमन तथा ब्यवस्थापनमा परिचालित भएको थियो ।

निर्वाचन व्यवस्थापनमा जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही तथा समितिका सदस्यहरु ईश्वरीप्रसाद ज्ञवाली, भोलासिंह हमाल, ऋषिराज शर्मा र प्रकाश लामिछाने खटिनु भएको थियो ।
यसैगरी जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओली, निर्वाचन पर्यवेक्षकद्धय जिल्ला बार बाँकेका अध्यक्ष (अधिवक्ता) जनकबहादुर शाही र प्राध्यापक मोहनजंग शाह तीन वटै क्षेत्रको अनुगमनमा पुग्नु भएको थियो ।
