
नेपालगन्ज, १ भाद्र– नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना आज (सोमवार) डिस्चार्ज भएका छन् । वडाअध्यक्ष रिजाललाई साउन १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँसहित डिस्चार्ज हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत समेत रहेका छन् ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यानसर अस्पतालको आईसुलेसनबाट प्रवक्ता रिजालसहित ३ जना, आर्दशनगर आईसुलेसन सेन्टरबाट ३ र लायन्स डेन्टल अस्पताल आईसुलेसनबाट ५ जना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आज डिस्चार्ज भएका समेत गरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ४ सय ५५ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या सात सय ३० पुगेको छ ।
अहिले जिल्लाका विभिन्न आईसुलेसनमा बाँकेका दुई सय ७२ जना रहेको पनि श्रेष्ठले जानकारी गराउनुभयो । अन्य जिल्लाका सात जना पनि बाँके कै आईसुलेसनमा बसिरहेका छन् ।