
राप्तीसोनारी, १ मंसिर – राप्ती सोनारी गाउँपालिका क्षेत्रमा खोलानाला नखुल्दै अवैध उत्खनन् भइरहेको छ । प्रहरी कै सेटिङमा दैनिक जसो स्थानीय खोलानाला र राप्ती नदीबाट ढुङ्गा गिट्टी बालुवा उत्खनन भइरहेको हो ।
स्थानीय बासिन्दाहरुको जनगुनासो अनुसार कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी नै सेटिङमा भएपछि अवैध उत्खन्न झनै बढेको हो । प्रहरी चौकी फत्तेपुर, प्रहरी चौकी कचनापुर, प्रहरी चौकी ढकेरी हेर्ने क्षेत्रमा खुल्लेयाम दैनिक निकासी भइरहँदा पनि प्रहरी मुख दर्शक बनेको छ ।

इलाका प्रहरी कार्यालय धामपुरबाट खटिने बर्दीधारी प्रहरी र शिविल प्रहरी खोलामा नै हुने तर अवैध निकासी नरोकिने जनगुनासो छ । राप्ती नदीको वडा न. ३ खैरहनी, साइपुर, गल्रावाज नाका, वडा न. ४ को लालपुर नाका र वडा न. ५ को ललही, विनौना र आलिनगर नाकाबाट दैनिक जसो ट्याक्टर, टिपरबाट अवैध निकासी भइरहेको स्थानीय रामबहादुर थारुको भनाई छ ।
माथी उल्लेखित सबै नाका इप्रका धामपुर कै एरिया पर्ने गरेको छ । त्यस एरियाबाट प्रति ट्याक्टर २ हजारदेखि ४ हजारसम्म प्रहरीले पैसा उठाउने गरेको जनगुनासो रहेको छ । धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देल भने पैसा असुली नगरेको जिकिर गरेका छन् । उनले खोलामा अवैध उत्खनन रोक्न प्रहरी परिचालन गर्ने गरेको उल्लेख गरेका छन् ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले अवैध उत्खनन बारे आफू कहाँ गुनासो नआएको बताउँदै उत्खनन भएको पाईएमा त्यसलाई रोक्ने प्रतिबद्धता जनाए ।
अवैध उत्खनन कार्य गर्नेसँग साँठगाँठ गर्ने जो कोही प्रहरीलाई छुट नभएको भन्दै त्यसो भएको पाईएमा तत्कालै कार्वाही गरिने समेत मातहतका प्रहरीहरुलाई निर्देशन गरेका छन् ।
