
नेपालगन्ज, ३१ श्रावण– नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले आईसुलेसन अस्पताल र क्वारेन्टाईन सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्था बारे शनिबार जानकारी लिनु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्था बारे आफै जानकारी लिनुभएको छ ।
खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसुलेसन, नेपालगन्ज आर्दशनगरमा रहेको क्वारेन्टाईन सेन्टर, सिटी प्यालेस र गनापुरको खुला कारागार लगायत स्थानमा पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापन बारे जानकारी लिनुभएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो ।

मेयर राणाले आईसुलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका कर्मचारीलाई निर्देशन दिनुभएको छ । ‘आज म सबै आईसुलेसन सेन्टरमा पुगेर त्यहाँका संक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिए’, प्रमुख डा. राणाले भन्नुभयो–‘सबैको मुहार चम्किलो देखे, संक्रमित सबैले कोरोनालाई जितिसक्नुभएको छ ।’

उहाँले संक्रमितहरुको आत्मबल देखेर आफै चकित भएको बताउनुभयो । उहाँले कोरोनालाई ठूलो हाउगुजीका रुपमा नलिन पनि सबैलाई आग्रह गर्नुभयो । सरकारका नियमहरुलाई सबैले पालना गर्ने हो भने कोरोनाबाट सबै जोगिने उहाँको भनाई रहेको छ । ‘मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र सरसफाईमा विशेष ख्याल गर्ने हो भने कोरोनाबाट जोगिन सकिन्छ’ उहाँले बताउनुभयो ।
बाँकेका विभिन्न आईसुलेसनमा हाल २ सय ५८ जना क्वारेन्टाईन बसेका छन् । जसमध्ये महिला ८६ जना रहेका छन् ।