Tuesday, April 21सत्यम खबर
Shadow

‘चिनियाँ कम्पनीहरुले गर्दा धेरै आयोजनाहरु अलपत्र’– पूर्वमन्त्री हमाल

नेपालगन्ज, ६ कार्तिक – भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मे.वा. जलबिद्युत उत्पादन गर्ने लक्ष्य राखी सञ्चालन गरिएको आयोजना ढिलाई हुनुको कारण के होला हाल चर्चाको विषय बनिरहेको छ ।
हाल भएको ढिलाईका कारण तथा आयोजनामा समान सहभागिता नहुनु आफ्नै सरकारको कमी भएको पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले बताएका छन् । पूर्वमन्त्री हमालका अनुसार चिनिया कम्पनीहरुले देशको धेरै जसो ठूलो आयोजनाहरुको जिम्मा पाएका छन् तर सम्झौता गर्दा समानताको कुरा आउँछ । हाम्रो देशमा खनिज पदार्थको कमी छैन, भित्रि रुपमा गरिने कार्यहरुमा देशका विज्ञहरुको सहभागिता हुनु जरुरी देखिन्छ । यति त्यसो नगरिएको अवस्था छ भने देशको अर्बौ सम्पत्ति अरुको हात लाग्ने हुन्छ ।


उक्त भनाई हाल भेरी–बबई आयोजना बारे पूर्वमन्त्री हमालले नभई देशको सबै आयोजनाहरुको बारेमा राखेका छन् । हुन पनि देशको सम्पत्तिमा देशका जनताहरुको अधिकार हुनुपर्छ । देश भित्र पेट्रोल खानी, सुन खानी, युरेनियम लगायत बाहुमूल्य खनिज पदार्थहरुको भण्डार रहेको बेलाबखत सुन पाईन्छ । तर कुनै आयोजना सम्झौता गर्दा भित्रि स्थानसम्म नेपाल सरकारको विज्ञ टिम नभएको अवस्थामा त्यस्तो सम्झौता गर्दा नेपाल सरकारलाई घाटा हुने पूर्वमन्त्री हमालको भनाई रहेको छ ।
पूर्वमन्त्री हमालले– ‘चिनिया कम्पनीहरुले गर्दा देशको धेरै जसो आयोजनाहरुमा ढिलाई हुने गरेको छ । मैले भेरी बबई आयोजनाको मात्र कुरा नगरौं, धेरै जसो आयोजनाहरुको शुभारम्भ गिरिजाबाबुको पालोमा भएको तर हालसम्म समेत अलपत्र रहेको पाईन्छ’ उहाँले भन्नुभयो ।


बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान लगाईएको थियो । आयोजना आ.व.२०६८÷६९ मा शुरु भई आ.व. २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित तालिका अनुसार आ.व. २०७८÷७९ मा सम्पन्न हुनेछ । आयोजनाको कूल लागत रु. १६४३ करोड लाग्ने अनुमान रहेको छ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको लक्ष्य भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने छ । सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका थिए । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च लाग्नेछ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ हजार मिटर छ ।


दोस्रो चरणअन्तर्गत २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमण÷ग्वाङ्डोन जेभीले जिम्मा लिएको छ । कम्पनीले गत वर्ष साउन १५ मा ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा कामको सम्झौता गरेको हो । आयोजना सकिएपछि ४.२ मिटर व्यास गोलाइ र १२.२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
भेरी नदीमा सुक्खायाममा ८० घनमिटर पानी प्रतिसेकेन्ड बग्छ । १ सय ५२ मिटर लामो हेडको प्रयोग गरेर २४ मेगावाट क्षमताका दुईवटा टर्बाइनमार्फत ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरी वार्षिक ३ सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने जानकारी गराईएको छ ।
महालेखा परिक्षणका अनुसार सुरङ परिक्षण बिना नै चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले आयोजना कार्यालयलाई २०७७ भदौ १७ गते सुरुङ हस्तान्तरण गरेको थियो । कम्पनीले नेपाल मै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण गरेको हो । भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्म १२.२ किलोमिटर लामो सुरुङ खनिएको छ । सुरुङ निर्माणका लागि १० अर्ब ५७ करोड रुपैयाँमा सम्झौता भए पनि ९ अर्ब ८८ करोड रुपैयाँ कम्पनीलाई भुक्तानी दिइएको सिँचाइ विभागले जनाएको छ ।
यो नेपाल सरकारको लगानीमा बनेको परियोजना हो । यस्ता बहुउद्देश्यीय परियोजना नेपालका अन्य स्थानमा सुरु हुँदैछन् । सुनकोसी–मरिन बेसिन डाइभर्सन, कालीगण्डकी–तिनाउ, तमोर–चिस्याङ, जनताको लगानीमा जलविद्युत् भन्ने सूचीमा सरकारले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *