
नेपालगन्ज, २९ श्रावण– नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगन्ज उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमा आईतबारदेखि सेवा सुचारु हुने भएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी गराउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।
सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ना साथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ ।
यसैगरी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर्मचारीहरु डिस्चार्ज भएपछि आईसुलेसन सेन्टर खाली भएको छ । कार्यालयका ४ जना अधिकृत, ४ जना कर्मचारी र ४ जना परिवारका सदस्यहरु डिस्चार्ज भएपछि कार्यालयमा बनाइएको आईसुलेसन सेन्टर बन्द गरिने भएको छ ।
राजश्व कार्यालय नेपालगन्जका एक अधिकृतमा कोरोना संक्रमण देखिए पश्चात भएको कन्ट्याक्ट ट्रेसिङबाट कार्यालयका थप १० जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै दाङबाट भेरी अस्पतालमा उपचारका लागि आएका २ जना कर्मचारीमा समेत कोरोना संक्रमण फेला परेपछि राजश्व कार्यालय मै आईसुलेसन सेन्टर बनाइएको थियो ।
राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले आईसुलेसनमा रहेका सबैजना बिहीबार डिस्चार्ज भएको जनाउनुभयो । उहाँका अनुसार अब आईसुलेसन सेन्टर बन्द गरी जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु सुनिश्चित गरी श्रावण ३२ गते आईतबारदेखि कार्यालयको सेवा प्रवाह गरिने तयारी गरिएको बताउनुभयो ।
