
बेनी, २३ असोज – दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडा च्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडा च्याङ्ग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी हुँदै आएका थिए ।
निकासी भएका सबै भेडा च्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका छन्,’ उनले भने ।
पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।
कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठुलो संख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडा च्याङ्ग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडा च्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।
गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा रु पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २०० च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए ।
‘अघिल्लो वर्ष प्रतिगोटा रु २५ हजारसम्ममा खरिद गर्थ्यौँ, यस वर्ष रु ३५ हजारसम्म परेको छ, पोखरासम्म पु¥याएर बिक्री गर्दा रु ४० हजारसम्ममा बिक्री गर्ने हो’, ठकुरीले भने । यस वर्ष डोल्पाबाट आएका चार हजार र बाँकी आठ हजार भेडा च्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडा च्याङ्ग्रा बजारमा भित्र्र्याइएको छ ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडा च्याङ्ग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडा च्याङ्ग्रालाई रु ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडा च्याङ्ग्राले विशेष गरी लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गर्दछ । –रासस

