Saturday, April 18सत्यम खबर
Shadow

चीनले नेपाली भूमि मिचेर बडेमान भवन बनाएको हुम्लाको लाप्चा पुग्यो सरकारी टोली, एक इन्च पनि जमिन नछोड्ने

नेपालगन्ज, भाद्र ३१ –उत्तरी छिमेकी चीनले नेपाली भूमिमा बडेमान भवन बनाएको हुम्लाको लाप्चामा नेपाली सरकारी टोलीले अध्ययन थालेको छ ।

एक इन्च पनि भूमि नछोड्ने नीतिअनुसार गृह मन्त्रालयको सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सरकारी टोली अतिक्रमित सीमा क्षेत्रमा पुगेको हो । लाप्चा हुम्लाको नाम्खा गाउँपालिकामा पर्छ । जहाँ अघिल्लो वर्ष विवाद आएको थियो ।

चीनले एकलौटी रुपमा भवन बनाए पनि तत्कालीन सरकारले जमिन नमिचेको भन्दै चीनलाई उन्मुक्ति दिएको थियो । तर कांग्रेस नेता जीवनबहादुर शाहीले आफै स्थलगत अध्ययन गरेर सरकारले ढाकछोप गरेको यथार्थ बाहिर ल्याएका थिए ।

कांग्रेस नेताको प्रतिवेदनका आधारमा शेरबहादुर देउवा सरकारले छानविन समिति पठाएको हो । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चा गएको हो । समितिमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिको रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको थियो ।

लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरु पुग्ने जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा– ५ को हिल्सा र किट क्षेत्रमा पर्छन् ।

त्यस्तै, नाम्खा– ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङमा ३ नम्बर सीमास्तम्म ठाउँको नुमुच्चैमा ४ नम्बर सीमास्तम्भ रहेको छ । हुम्लाको ८ ठाउँमा गडबड रहेको तथ्य शाहीले बाहिर ल्याएका थिए । (स्रोतः नेपालपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *