Friday, October 16सत्यम खबर
Shadow

नेपाली मौलिक कला–संस्कृति झल्काउने कलाबारे नेपालगन्जमा कार्यशाला हुँदै

नेपालगन्ज, २८ असोज – नेपाली मौलिक कला, संस्कृति र परम्परागत नृत्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘लुम्बिनी कल्चर डान्स आइडल–२०८३’ आयोजना हुने भएको छ । नेपाली लोकसंस्कृति, परम्परागत गरगहना, भेषभूषा र नृत्यलाई नयाँ पुस्तामाझ परिचित गराउँदै मौलिक सांस्कृतिक पहिचान जोगाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो ।

डान्स आइडल कार्यक्रमको पहिलो अडिसनमा १११ जनाले सहभागिता जनाएका थिए । अडिसनबाट छनोट भएका ४९ जना प्रतिस्पर्धी दोस्रो चरणअन्तर्गतको कार्यशाला (वर्कसप) मा सहभागी हुने कार्यक्रम संयोजक मिलन गुरुङले जानकारी दिनुभएको छ ।

कार्यशाला असोज ३१ गते नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा आयोजना गरिनेछ । एकदिने कार्यशालामा सहभागीलाई दुई चरणमा नेपाली लोकसंस्कृति झल्काउने परम्परागत गरगहना, भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिबारे प्रशिक्षण दिइने छ । साथै, नृत्यको शैली, प्रस्तुति र आवश्यक सीपसम्बन्धी ज्ञानसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यशालामा बागिना कला केन्द्रका संयोजक तथा परेली सांस्कृतिक समूहका मानार्थ सदस्य युवराज गुरुङले प्रशिक्षण दिनुहुने कार्यक्रम संयोजक मिलन गुरुङले जानकारी दिनुभयो । उहाँले सहभागीलाई नेपाली मौलिक संस्कृति झल्किने नृत्य कसरी प्रस्तुत गर्ने, परम्परागत शैलीलाई कसरी आत्मसात् गर्ने र प्रस्तुतिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम संयोजक गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमको आयोजना मिडिया ल्याबले गरेको हो भने बाँके कला केन्द्रले संयोजनको जिम्मेवारी लिएको छ । कार्यक्रम संयोजक मिलन गुरुङका अनुसार प्रतियोगितामार्फत प्रतिभाशाली युवालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको महत्वबारे नयाँ पुस्तामा जागरण ल्याउने लक्ष्य राखिएको छ ।

प्रतियोगिताको फाइनल राउण्ड छठ पर्वपछि आयोजना गरिने जनाइएको छ । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कार्यशाला र आगामी चरणमार्फत नृत्य तथा सांस्कृतिक प्रस्तुतिमा थप निखार ल्याउने अवसर दिइनेछ ।

नेपाली मौलिक कला र संस्कृति आधुनिक पुस्तामाझ ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत नृत्य, भेषभूषा, गरगहना र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । आयोजकले नेपाली कला र संस्कृतिप्रति रुचि राख्ने सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *