Friday, April 25सत्यम खबर
Shadow

नेपालगन्जको धम्बोझी मै खुल्यो सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट

नेपालगन्ज, २ गते बैशाख – बाँकेको नेपालगन्ज सहरको धम्बोझी (वीरेन्द्र)चोकमै सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट खुलेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बरबहादुर चन्दले धम्बोझी चोकमै रहेको महाराजा कम्प्लेक्समा महाराजा रेष्टुरेन्ट खोलेका हुन् ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले सोमबार बिहान महाराजा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका मन्त्री अग्रवालले संघका प्रवक्ता चन्दले छोटो अवधिमै व्यावसायमा प्रगति गरेको देख्दा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । मन्त्री अग्रवालले भने, ‘म गृह जिल्ला भएको बेला यहाँका उद्योगी व्यवसायी साथीहरुले आयोजना गरेका कार्यक्रममा सकभर सहभागी भएर हौसला बढाउने गर्छु । उहाँहरुको प्रगतिमा खुसी हुन्छु ।’

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, महिला उपाध्यक्ष मन्दिरा पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य दीपेन्द्र विष्ट, आर्दश मावि तथा टक्सार रियल स्टेटका अध्यक्ष ईश्वर पोखरेल, संघका कार्य समिति सदस्य कमल कार्कीलगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
रेष्टुरेन्टका सञ्चालक चन्दले तीन तले महाराजा कम्प्लेक्सको ग्राउण्ड फ्लोरमा ३६ सिट क्षमताको फास्टफुडसहितको रेष्टुरेन्ट, पहिलो तलामा बारसहितको ८२ सिट क्षमताको रेष्टुरेन्ट र दोस्रो तलामा एक दर्जनभन्दा बढी ब्यक्ति अटाउने क्याबिन रहेको बताए ।

एक करोड ४८ लाख रुपैयाँ लागतमा निर्र्माण गरिएको रेष्टुरेन्टमा एकै पटकमा १२५ जनासम्मले सेवा लिन सक्ने चन्दले जानकारी दिए । उनका अनुसार रेष्टुरेन्टमा १२ देखि १८ जना क्षमताका तीन वटा क्याबिन छन् । जहाँ कर्पोरेट मिटिङ वा बर्थ डे मनाउन सकिन्छ । सात वटा साना प्राइभेसी क्याबिन पनि छन् । जसमा ९ सिटे एउटा, ६ सिटे क्याबिन २ वटा र ४ सिटे क्याबिन ४ वटा रहेका छन् । रेष्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न महाराजा स्पेशल लस्सी, ह्याकुला दम बिरयानी, खाना सेट र कफीलाई सहुलियत दरमा मेनुमा राखेको छ । चन्द भन्छन्, ‘हाम्रो रेष्टुरेन्टमा आउने ग्राहकले क्याबिन, रेष्टुरेन्ट र बार जहाँ बसे पनि सबैतिर पूर्ण रुपमा एसी जडान गरिएको छ । नेपालगन्जको चर्को गर्मीमा एसी रुममै बसेर आफ्नो रोजाइको गुणस्तरीय परिकार खान पाउँछन् ।’

विगत १६ वर्षदेखि नेपालगन्ज र रुकुममा ५ स्थानमा महाराजा मोबाइल पसल सञ्चालन गर्दै आएका चन्दका नेपालगन्जको धम्बोझी चोकको पूर्व र पश्चिम लाइनमा दुई वटा, बसपार्क, पुष्पलाल चोकमा एक एक वटा र रुकुम पश्चिमको मुसिकोट खलंगामा महाराजा मोबाइल पसल छन् । महाराजा ग्रुपले मोबाइल र रेष्टुरेन्टमा गरी करिब ३० करोड रुपैयाँ लगानी गरेको व्यवसायी चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *