Friday, May 16सत्यम खबर
Shadow

क्यानडाको पछिल्लो क्रियाकलापप्रति भारत आक्रोशित, कडा कदम चाल्ने तयारी!

काठमाण्डौ, १ कार्तिक – गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।

सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशंकाको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।’

सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए। उनलाई भारतीय अधिकारीहरूले आतंकवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा ‘अत्यधिक खोजीको सूची’मा राखेर खोजी गरिरहेको थियो। सन् २०२३ को जुन महिनामा भ्यानकुभरको एक सिख मन्दिरको पार्किङ स्थलमा भएको निज्जरको हत्यामा संलग्न भएको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

भारतले हत्यासँग जोडिएको आरोपलाई ‘निरर्थक’ र ‘राजनीतिक लाभका लागि भारतलाई बदनाम गर्ने रणनीति’ भनेको छ। भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय कूटनीतिज्ञविरुद्ध आरोप लगाउने क्यानडा सरकारको पछिल्लो प्रयासको जवाफमा भारतलाई थप कदम चाल्ने अधिकार सुरक्षित छ।’ क्यानडामा करिब सात लाख ७० हजार शिखहरू बसोबास गर्छन् र यो क्यानडाको जनसङ्ख्याको लगभग दुई प्रतिशत हिस्सा हो। -रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *