Thursday, December 12सत्यम खबर
Shadow

१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स, साढे १२ महिनालाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

काठमाण्डौ, २८ जेठ – चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार नेपालमा साढे १२ महिनालाई वस्तु तथा सेवा धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिति भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो ।

‘आर्थिक वर्ष २०८०-८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *