Sunday, February 9सत्यम खबर
Shadow

चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी तयारी

काठमाण्डौ, ३० बैशाख – अमेरिकाले चिनियाँ विद्युतीय गाडीहरुमा १०० प्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको छ।

बिजुलीबाट चल्ने सस्ता चिनियाँ गाडीले अमेरिकी बजारमा स्थानीय कार कम्पनीहरुलाई अप्ठ्यारोमा पारेको भन्दै बाइडेन प्रशासनले यो निर्णय लिन लागेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्।

थप शुल्क यही मंगलबार नै घोषणा हुने बताइएको छ।

बिजुलीबाट चल्ने चिनियाँ कारहरुमा अहिले लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क बढेर १०० प्रतिशत सम्म पुग्न सक्ने न्युयोर्क टाइम्सले जनाएको छ।

बिजुली गाडी बाहेक सेमिकन्डक्टर, स्टिल, एल्मुनियम, सोलार प्यानल लगायतका चिनियाँ उत्पादनमा यस्तो शुल्क बढ्न सक्ने अनुमान गरिएको छ।

बाइडेन प्रशासनले सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा लगाएका शुल्कहरुको समीक्षा गरिरहेको छ। यही समिक्षासँगै भन्सार शुल्क थप हुन लागेको हो।

गत महिना पेन्सल्भेनिया राज्यको भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले चिनियाँ स्टिल र आल्युमिनियममा तीन गुणा शुल्क थप्न चाहेको बताएको न्युयोर्क टाइम्सले जनाएको छ।

विद्युतीय सवारी साधन, सोलार प्यानल लगायतका हरित औद्योगिक क्षेत्रमा चीन धेरै अगाडि बढेपछि अमेरिकाले त्यो क्षेत्रमा चीनको गति रोक्ने प्रयास गर्न थालेको छ।

अमेरिकामै यस्ता उद्योगहरुलाई प्रवर्धन गर्न अमेरिकी सरकारले ठूला योजना ल्याएको छ र राज्यले त्यस्ता उद्योगहरुलाई ठूलो मात्रामा सहयोग उपलब्ध गराएको छ।

अमेरिकामा यही वर्षको नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

त्यसले पनि चिनियाँ आयातलाई रोक्न र आन्तरिक उद्योगहरुलाई बढावा दिन राष्ट्रपति बाइडेन माथि बढ्दो दवाब छ।

चीनले यस्ता शुल्कहरु अन्यायपूर्ण र स्वतन्त्र व्यापारको अवधआरणा बिपरित रहेको र चीनको प्रगतीलाई रोक्नकालागि लगाउने गरिएको भन्दै बिरोध गर्दै आएको छ।

अमेरिकाले भने चीनले आन्तरिक रुपमा यस्ता उद्योगहरुलाई ठुलो अनुदान दिएर सस्तोमा उत्पादन गरी विश्व बजार कब्जा गर्ने रणनीति अख्तियार गरेको भन्दै प्रतिवाद गर्ने गरेको छ। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *