Monday, April 13सत्यम खबर
Shadow

भारतमा आन्तरिक विद्युतलाई प्रसारण भाडामा छुट, नेपाली निर्यात प्रभावित हुन सक्ने

काठमाण्डौ, २३ पौष – भारतले आन्तरिक उत्पादनको विद्युतलाई प्रसारण लाइनको भाडा (ह्विलिङ चार्ज) नलिने निर्णय गरेको छ । यसबाट नेपालको विद्युत्ले भारतीय बजारमा प्रतिस्पर्धी मूल्य गुमाउन सक्ने देखिएको छ ।

भारतको ऊर्जा मन्त्रालयले त्यहाँका नयाँ जलविद्युत् आयोजनालाई अन्तरराज्य (प्रदेश) प्रसारण प्रणालीको भाडा (ह्विलिङ चार्ज) १८ वर्षसम्म नलिने निर्णय गरेको छ । यसबाट त्यहाँका आयोजनाको विद्युत् तुलनात्मक रूपमा सस्तो हुने देखिन्छ । जसबाट भारतीय बजारमा नेपाली बिजुलीले प्रतिस्पर्धी मूल्य गुमाउने सम्भावना भएको जानकारहरूले बताएका छन् । नेपालको विद्युत् भारतमा बिक्री भए पनि भनेजस्तो मूल्य नपाउने सम्भावना रहेको उनीहरूले बताएका छन् ।

भारतको नयाँ नीतिले नेपाललाई तत्काल प्रभाव नपार्ने नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । तर, दीर्घकालीन रूपमा भने असर पर्न सक्ने उनले औँल्याए । ‘प्रसारण शुल्कमा छुट दिने भारतीय नयाँ निर्णयले त्यहाँका विद्युत्को लागत घट्छ, सस्तो हुन्छ,’ उनले भने, ‘भारतीय बजारमा नेपालले प्रतिस्पर्धा (बढाबढ) गर्दा हामीले प्रस्पिर्धी मूल्य नपाउन सक्छौँ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताए । तर, दीर्घकालीन रूपमा भने नेपालको विद्युत् निर्यात प्रभावित हुन सक्ने उनको विश्लेषण छ । नेपालले पनि त्यहाँका विद्युत्ले पाउने छुट सुविधा प्राप्तिका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

‘भारतले आन्तरिक प्रयोजनका लागि यस्तो निर्णय गरेको हुनाले यसबाट आत्तिहाल्नुपर्ने अवस्था भने छैन । तर, त्यसको असर भने पर्न सक्छ,’ आचार्यले भने, ‘त्यो अवस्थामा कसरी हुन्छ, उचित मूल्यमा भारतमा विद्युत् बिक्री गर्ने गरी नेपाल अघि बढ्नुपर्छ । यसमा उचित निकास निकाल्न सरकारले भारतसँग पहलकदमी बढाउनुपर्छ ।’ अब नेपाली निजी क्षेत्रलाई समेत अन्तरदेशीय विद्युत् व्यापार गर्न दिनुपर्ने उनले बताए ।

भारतले यसअघि सौर्य र वायु ऊर्जासम्बन्धी आयोजनालाई ह्विलिङ चार्ज नलिने निर्णय गरिसकेको थियो । अहिले आएर जलविद्युत् आयोजनालाई पनि यस्तो छुट दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । भारतले सन् २०३० भित्र आन्तरिक रूपमा पाँच सय गिगावाट स्वच्छ (गैरजीवाश्म) ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ, सोही लक्ष्य प्राप्त गर्न भारत सरकारले ह्विलिङ चार्जमा नयाँ नीति लिएको हो, जसबाट नेपाली विद्युत् निर्यात भने अप्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ ।

नेपालले भारतसम्म विद्युत् पुर्‍याउँदा अहिले जसरी नै ह्विलिङ चार्ज तिर्नैपर्छ । तर, अब भारतीय जलविद्युत् आयोजनाले अन्तरप्रदेशीय रूपमा विद्युत् प्रसारण गर्दा ह्विलिङ चार्ज तिर्नुपर्दैन । यसरी बजारसम्म पुग्दा भारतको बिजुली सस्तो हुन्छ भने नेपाली विद्युत् महँगो हुनेछ । फलस्वरूप नेपाली विद्युत्ले भारतीय बजारमा प्रतिस्पर्धी मूल्य गुमाउने संकेत देखिएको हो । नेपाल र भारतका विद्युत् व्यापार कम्पनीहरूले बिडिङमार्फत भारतीय खुला बजारमै विद्युत् खरिद–बिक्री गर्छन् । त्यो अवस्थामा भारतमा नेपाली विद्युत् बिक्री गर्न त सकिन्छ, तर लागत कम भएपछि भातरीय विद्युत्को मूल्य बिडिङमै सस्तो हुन्छ । त्यो अवस्थामा नेपाली बिजुली पनि सस्तोमै बिड गरेर बिक्री गर्ने बाध्यता आउने ऊर्जाविज्ञ बताउँछन् ।

संयुक्त कार्यदलको बैठकमा आवाज उठाउने तयारी

भारतको यो नीतिमा सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । भारतको उक्त नीतिका कारण नेपाली विद्युत्ले उचित मूल्य पाउन नसक्ने उनीहरूको शंका छ, त्यो अवस्थामा यसबारे आगामी नेपाल–भारत ऊर्जासचिव–सहसचिवस्तरीय बैठकमा छलफल गर्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको तयारी छ ।

नेपाल–भारत ऊर्जासविच–सहसचिवस्तरीय बैठक जनवरी २०२३ को अन्तिम साता भारतको नयाँदिल्लीमा हुँदै छ, उक्त बैठकमा यो विषय पनि उठाउने मन्त्रालयका एक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *